• Tuesday 8th of September 2026

शुरु भयो बागलुङको कालिका मन्दिरमा चहलपहल


  • आशाका किरण

दशैँ नजिकिएसँगै बागलुङ कालिका मन्दिरमा पनि भक्तजन जाने क्रम बढेको छ । लकडाउनको समयभर प्रतिबन्ध लगाएकाले गत चैत, वैशाख, जेठ र असारमा मानिस गएनन् । ऐतिहासिक चैतदशैँ मेला पनि भएन ।

साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टीकाको छुट्टै व्यवस्था गरिएको तर धार्मिकस्थल खुल्छन् भने पनि भक्तजनमा उत्साह थपिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउने निर्देशन गरेपछि यहाँका मठमन्दिरहरुमा चहलपहल बढेको हो । ‘शनिबारदेखि कालिका मन्दिर खुल्छ रे !, अब पूजा गर्न जानुपर्ला’ पर्वतको पाङ्की यमुना शर्माले भन्नुभयो, “अहिलेसम्म गएको थिइनँ ।” सार्वजनिक क्षेत्र खुला भए पनि मन्दिर नखुल्दा धार्मिक गतिविधि नभएको उहाँले बताउनुभयो ।

भक्तजनको चहलपहल तुलनात्मक बढेकाले कसरी खुलाउने भन्ने छलफल थालेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो । सङ्क्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, तर अन्यत्र सबै खुला भएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला । प्रहरी र प्रशासनमा पनि यो विषयमा कुरा भएको उहाँले बताउनुभयो ।

घटस्थापनादेखि कालिका मन्दिरमा सयौँ भक्तजन आउने गर्थे । यो वर्ष तुलनात्मक रुपमा घटे पनि आस्था राख्नेका लागि रोक्न भने नसकिने उहाँले बताउनुभयो । सरकारले पनि धार्मिकस्थलमा सुरक्षाका मापदण्डसहित खुलाउने भनेकाले कालिकामा पनि सुरक्षा अपनाइने उहाँले बताउनुभयो । कालिका मन्दिर मात्र नभई पञ्चकोट, शालिग्राम सङ्ग्राहलयमा पनि पर्यटक बढेका छन् । अधिकांश स्थानीय भए पनि घुम्ने र आस्थाको केन्द्रमा पुगेर पूजा गर्न खोजेको भेटिएको हो ।

लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका छन् । सम्पदामा मानिसको चहलपहल बढेपछि यहाँका रेष्टुरन्ट पनि सञ्चालनमा आउन थालेका छन् । ६ महिना बन्द होटल तथा रेष्टुरेन्टमा सरसफाइ शुरु भएको छ ।

लकडाउन खुला भएकाले व्यवसाय बढ्न थालेको होटल सङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । “अझै होटलमा बस्ने गरी पाहुना आएका छैनन् तर धार्मिक र पर्यटकीय क्षेत्र खुला छ भन्ने सन्देशले केही पाहुना आएका छन्”, चोखालले भन्नुभयो, “लामो दूरीबाट आउने पाहुना नबढेसम्म होटल पूर्ण रुपमा चल्दैनन् ।” छिटफुट रुपमा होटलमा खाना खाने र बस्ने भने देखिन थालेको उहाँले बताउनुभयो । रेष्टुरेन्टहरु भने भरिन थालिसकेका छन् ।

अन्य व्यपार भने बढेको उद्योग वाणिज्य सङ्घका महासचिव नरेश कँडेलले बताउनुभयो । “खाद्यवस्तुको व्यपार त लकडाउनमा पनि थियो, अहिले विलाशिताका वस्तुको पनि व्यापार बढेको छ”, कँडेलले भन्नुभयोे, “केही समयदेखि व्यवसायले पुरानै लय समात्न थालेको छ ।” पूर्ण ठप्प भएको यातायात र होटल व्यवसायमा पनि सुधारको सङ्केत देखिएको उहाँले बताउनुभयो । दशैँ आउन लागेकाले बजारमा किनमेल गर्नेको भीडसमेत देखिन थालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij