• Saturday 25th of July 2026

समृद्धिका लागि गरीब तथा विपन्न वर्गको सशक्तिकरणमा जोड


  • आशाका किरण

मुलुकको विकास तथा समृद्धिका लागि गरीब तथा विपन्न वर्गको सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याइएको छ ।

मधेशी आयोगद्वारा आज सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा गाउँपालिकाको प्रमुख समस्याका विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले मधेशमा बसोबास गर्ने गरीब तथा अतिविपन्न वर्गको सशक्तिकरण नभएसम्म राज्यले लिएको समृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।

सो अवसरमा मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले शिक्षा, स्वास्थ्यलगायत मधेसीको मानव अधिकारको उल्लङ्घन भएमा मधेशी आयोगले आफ्नो भूमिका निर्वाह गर्ने र मधेशीको सशक्तीकरण, प्रवद्र्धन तथा संरक्षण गर्ने बताउनुभयो ।

तीन तहकै सरकारले नगर्ने काम गरेमा वा गर्ने काम नगरेमा मानव अधिकारको उल्लङ्घन हुने उहाँले बताउनुभयो । विभिन्न गाउँमा जाँदा खासगरी दलित, मुस्लिमलगायत विपन्न जातिको दयनीय अवस्था देखेको बताउँदै उहाँले मधेशको भूगोलमा मात्र नभई जहाँजहाँ मधेशी छन् ती सबै मधेशीको समस्या समाधानमा आयोगले प्रभावकारी भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो गाउँ बेल्ही आउनुभएका डा दत्तले परिवर्तन र विकासका लागि पहिले स्वयंमा परिवर्तन ल्याउनुपर्ने र आफ्नो गाउँठाउँ र युवा सशक्तीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पहिलो चरणमा केन्द्र र प्रदेशस्तरका विज्ञसँग, दोस्रो चरणमा काँकडभिट्टादेखि दार्चुलासम्म जिल्लास्तरमा नागरिक समाजसँग र तेस्रो चरणमा गाउँ र वडास्तरका सर्वसाधारणसँग अन्तक्र्रिया गरी आयोगले सुझाव सङ्कलन गरिरहेको जानकारी दिदैं उहाँले आयोगले प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बेल्ही युथ क्लबका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीले सार्वजनिक सरोकारको विषयको सूचना नपाउने गरेको, आधारभूत शिक्षामा सबैको पहुँच नभएको, आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त हुन नसकेको समस्या उठाएका छन् । उनीहरुले स्वच्छ खानेपानी तथा सरसफाइबाट वञ्चित रहेको, बलान खोलाले सयौँ बिघा जमिन कटान गरेर उठिबास लगाएको, सिँचाइको व्यवस्था नभएको, बेरोजगारी भत्ता उपलब्ध नगराएकोलगायत समस्या यहाँ रहेकाले यसको सम्बोधनका लागि सरकार गम्भीर हुन नसकेको गुनासो गर्नुृभयो ।

बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, वडा नं ४ का वडाध्यक्ष हन्सु मियाँ, क्लबका उपाध्यक्ष इन्द्रजीत मण्डल, सचिव रमेश मुखिया, कोषाध्यक्ष निरज यादवलगायतले यहाँको समस्या, चुनौतीका वारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij