• Saturday 25th of July 2026

युवाको आकर्षण होटल व्यवसायमा


  • आशाका किरण

जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताउनुभयो । लामो समयसम्म भारतमा बसेर होटलमा काम गर्नुभएका ढकाल अहिले भने गाउँ फर्केर होटल व्यवसायमा रमाउनुभएको छ । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ ।
उहाँले टीकापुरमा क्याफे सञ्चालन गर्नुभएको छ । “विदेशमा बसेर काम गर्दा राम्रै कमाई भएपनि सन्तुष्ट हुन सकिँदो रहेनछ”, उहाँले भन्नुभयो, “स्वदेशमै केही गरौं भन्ने उद्देश्यले होटल व्यवसाय सञ्चालन गरेको हुँ ।” पारिवारिक वातावरणसहितको उक्त क्याफेको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै उहाँले यसको शाखा बिस्तार गरी व्यवसायलाई फराकिलो बनाउने योजनामा रहेको जानकारी दिनुभयो ।

रु २० लाखको लगानीमा शुरु गरिएको यो व्यवसायमा अहिले छ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको उहाँको भनाइ छ । “पहिलेदेखि नै होटलमा काम गरेको हुँदा होटलतिरै मेरो लगाव रह्यो”, ढकालले भन्नुभयो, “त्यसलाई अझै फराकिलो बनाई आफ्नै देशमा केही गर्ने योजनाका साथ नेपाल फर्किएको हुँ ।”

त्यस्तै, लामो समयदेखि फेन्सी व्यवसाय गर्दै आएका २५ वर्षीय जीवन बिष्ट पनि होटल व्यवसायमै आकर्षित हुनुभएको छ । उहाँले करिब रु २५ लाखको लगानीमा केओडी रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ । होटल व्यवसायमा खासै ज्ञान नभएको बताउँदै बिष्टले सिक्दै जाँदा होटल व्यवसायमा आफ्नो आकर्षण बढेको बताउनुभयो । यो व्यवसायबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ ।

“पहिलो कुरा सन्तुष्टि हो । म फेन्सी पसलबाट पनि सन्तुष्ट थिएँ । होटलबाट पनि सन्तुष्ट छुँ”, बिष्टले भन्नुभयो, “अहिलेको आधुनिक युगमा मानिसहरुका विभिन्न आकांक्षा हुन्छन् । त्यहीअनुसार व्यवसायलाई पनि लग्ने हो भने सफल हुनेमा कुनै दुई मत छैन ।” उहाँले होटलभित्र विभिन्न डिजाइनका चित्रहरु बनाउनुभएको छ भने आउने ग्राहकको फोटोका लागि एकजना फोटोग्राफर कर्मचारी समेत राख्नुभएको छ । दिनभरि आएको ग्राहकको फोटोहरु बिष्टले आफ्नो होटलको फेसबुक पेजमा राख्ने गर्नुहुन्छ । जुन कारणले पनि केओडीप्रति ग्राहकको आकर्षण बढेको छ ।
“फेसबुक पेजकै तस्वीर देखेर सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका ग्राहकहरु आउने गरेका छन्”, उहाँले भन्नुभयो, “होटल सबै एउटै हुन् । तर, हाम्रो योजनामात्रै फरक देखिएको हो । त्यही फरकपन देखेर बाहिरबाट पनि मानिसहरु सम्पर्क गर्ने गरेका छन् ।” उहाँले यो व्यवसायमा १२ जनाले प्रत्यक्ष रोजागारी पाएको बताउनुभयो ।

त्यस्तै टीकापुरकै जीवन शाहीले बीएचएम पास गरी टीकापुरमै मुमेरो जाभा कफी शप शुरु गर्नुभएको छ । प्रयोगात्मक तालिमका लागि एक वर्ष दुबई बसेका शाही आफ्नै क्षेत्रमा कफीको क्रेज बढाउन चाहनुहुन्छ । दुई दाजुभाइ मिलेर रु १५ लाखको लगानीमा कफी शप शुरु गर्नुभएका शाहीले टीकापुरको विकासमा आफूहरुले पनि एक इँटा थप्ने उद्देश्यका साथ व्यवसाय सञ्चालन गरेको बताउनुभयो । “कफी एउटा ब्राण्ड हो । ग्राहकको मागअनुसार अन्य परिकारको तयारीमा पनि छौं”, उहाँले भन्नुभयो, “यहाँ आएका ग्राहकलाई पहिलो स्वाद हाम्रो कफी नै रहनेछ ।”

पच्चीस वर्षको उमेरमा व्यवासयमा लाग्नुभएका शाहीले अन्य युवालाई पनि व्यवसायमा जोडिन आग्रह गर्नुभएको छ । “टीकापुरमा हामीले फरक ब्राण्डको शुरुवात गरेका छौं । अब त्यसमा प्रतिस्पर्धा गर्ने अर्को व्यवसाय जन्मनुपर्छ”, उहाँले भन्नुभयो, “व्यवसाय थपिनु भनेको पनि त्यस क्षेत्रको विकास हो भने उद्यम गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत पनि हो ।”

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणका कारण बाहिर बसेका युवा आफ्नै क्षेत्रमा केही उद्यम गर्ने उद्देश्यका साथ जागरुक हुँदै गएका छन् । भारत तथा तेस्रो मुलुकमा रोजागारीका लागि होस् वा अध्ययनको सिलसिलामा बाहिर गएका युवा होटल व्यवासयमा मात्र नभई अन्य व्यवसायमा समेत जोडिँदै गएका छन् । व्यवसायिक युवाका लागि सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुको जोड छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij