• Saturday 25th of July 2026

सेतीखोलामा पक्की पुल निर्माण शुरु


  • आशाका किरण

दक्षिण पर्वतको पैंयु गाउँपालिका—४ हुवासमा पर्ने सेतीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण गर्न लागिएको पुलको काम यसै सातादेखि शुरु भएको हो । सो पुल निर्माणका लागि रु चार करोड १४ लाख ५५ हजार ३८४ रुपैयामा सम्झौता भएको छ ।

विसं २०७७ जेठ ४ गते सम्झौता भएपनि झण्डै कोभिड–१९ का कारण झण्डै पाँच महिनापछि शुरु भएको छ । पुल २०७८ मङ्सिर ४ सम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । पुलको लम्बाई ३५ मिटर रहने र भारवहन क्षमता ८० टन रहेको सडक डिभिजन कार्यालय बागलुङले जानकारी दिएको छ । पुल निर्माणको जिम्मा जयनेपाल इश्वर श्री सिद्धवावा जेभीले लिएको छ ।

पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवासस्थित हातेमालो चोक जोड्नका लागि सडक खुलेको झण्डै डेढ दशक पुगे पनि खोलामा पुल नहुँदा यो सडक हुँदै दैनिक चल्ने दर्जनौं साना ठूला सवारी साधनहरु खोलामा जोखिम मोल्दै वारपार गर्ने गरेका थिए । गाउँपालिकाकै छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम र महाशीला गाउँपालिकाको होस्राङदी, भोक्सिङ, बालाकोटलगायतका क्षेत्र जोड्ने सो सडकमा पुल नहुँदा वर्षायाममा सवारी साधनहरु ठप्प हुने गरेका थिए ।

हिउँद्मा खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिनुभयो । पुल बनेपछि पैंयु गाउँपालिका र छिमेकी पालिकाका विभिन्न वडाका नागरिहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । बाह्रैमास सवारी सञ्चालन गर्न सहज हुने अध्यक्ष तिवारीको भनाइ छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पुलको शिलान्यास गर्दै समयमै र तोकिएको गुणस्तर काम गरेर निर्माण गर्न आग्रह गर्नुभयो । मुलुक अहिले विकास निर्माणको द्रुत गतिमा अघि बढिरहेका बेला कोरोना भाइरसले तीनै तहका सरकारलाई धक्का पु¥याएको बताउँदै उहाँले अब कोभिडसँगसँगै विकास निर्माणलाई पनि अघि बढाउनुपर्ने धारणा राख्नुभयो । यो सँगै पैंयु गाउँपालिकामा रहेका सेतीखोला, मर्दिखोला, सरौंखोलालगायतका स्थानमा पाँच वटा पुलहरु निर्माणको काम अघि बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij