• Tuesday 8th of September 2026

लिगलिगकोट संरक्षण गर्न माग


  • आशाका किरण

नेपाल पत्रकार महासङ्घ गोरखाको १०औँ साधारणसभाले ऐतिहासिक लिगलिगकोटको जीर्णोद्धार र संरक्षणमा जोड दिन माग गरेको छ । महासङ्घको शुक्रबार र शनिबार पालुङटार नगरपालिका–२ आँपपीपलमा पर्ने लिगलिगकोट दरबार परिसरमा भएको साधारणसभाले ७ बुँदे लिगलिगकोट घोषणापत्र जारी समेत गरेको थियो । भग्नावशेष अवस्थामा रहेको नेपालको ऐतिहासिक लिगलिगकोट दरबारको संरक्षण जीणोद्धार र प्रचारप्रसारमा जोड दिन आग्रह गरेको महासङ्घका गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिनुभयो ।

उहाँले महासङ्घले जारी गरेको घोषणापत्रमा नेपाल एकीकरणको उद्गमस्थल लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जीर्णोद्धार, प्रचारप्रसारका साथै पुरातात्विक महत्व बोकेको यस क्षेत्रको समग्र विकासका लागि ध्यान पु¥याउन पुरातत्व विभागलगायत सम्बन्धित निकायलाई आग्रह गरेको जानकारी दिनुभयो । त्यस्तै लामो समयदेखि बन्द रहेको गोरखाको एक मात्र विमानस्थल पालुङटार विमानस्थल पुनःसञ्चालन र मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्नसमेत महासङ्घले माग गरेको छ ।

पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्तिविकासका कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तह तथा अन्य सङ्घसंस्थासँग सहकार्य तथा सहयोगका लागि आग्रह समेत गरिएको छ । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार आवाज विहीनको आवाज भएकाले सधैँ जनताका पक्षामा कलम चलाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल एकीकरणको उद्गम थलो लिगलिगकोट दरबार भग्नावशेष अवस्था रहेको भन्दै नेपाल एकीकरणको इतिहासलाई जोगाइराख्न पनि लिगलिगकोटको संरक्षण आवश्यक रहेको बताउनुभयो । “लिगलिगकोटको जीर्णोद्धार र संरक्षणका लागि पत्रकारले पनि कलम चलाउनुपर्ने आबश्यकता छ”, उहाँले भन्नुभयो, “लामो इतिहास बोकेको दरबार जीर्ण छ, संरक्षण र जीर्णोद्धारका लागि पहल गरिएन भने इतिहास भेटिन पनि सक्छ ।”

अध्यक्ष आचार्यले नेपाल पत्रकार महासङ्घ नेपालको सबैभन्दा पहिलो नागरिक अगुवाको संस्था रहेको भन्दै उहाँले महासङ्घले पत्रकारको हकहित अधिकार, मिडियाको हित, राष्ट्रिय स्वाभिमान र राष्ट्रको हित, लोकतन्त्र पक्षमा वकालत र नागरिक हितका पक्षमा प्रतिबद्ध भएर लाग्दै आएको बताउनुभयो ।

महासङ्घ गोरखाले जिल्लाभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महासङ्घको हरेक कार्यक्रमलाई रचनात्मक ढङ्गले विकास र समृद्धिसँग जोड्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij