• Friday 24th of July 2026

बन्दाबन्दीले जुराएको व्यवसाय : पाँचखालमा कफी शप सञ्चालन


  • आशाका किरण

कोरोना महामारीले धेरैको व्यवसायमा समस्या थोपरी दियो । भएको व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका निम्न मध्यम वर्गका व्यवसायीले महामारीपछि आफ्नो व्यवसाय चौपट भएको बताइरहेकाबेला पाँचखालका व्यवसायी नवीन प्रकाश निरौलाले भने बन्दाबन्दीपछि नयाँ व्यवसायको थालनी गर्नुभएको छ ।

पाँचखाल नगरपालिका वडा नं ४ तामाघाटका व्यवसायी उहाँले बजारमा नै पहिलोपटक नयाँ व्यवसाय बेकरी र कफी शप सञ्चालनमा ल्याउनुभएको हो । करीब २५ लाखको लगानीमा सञ्चालन गरेको ‘बार्स बेकरी एण्ड कफी शप’ सञ्चालनमा आएपछि कफीका पारखीका लागि आकर्षणको केन्द्र नै बनेको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने सो क्षेत्रमा सञ्चालनमा ल्याएको कफी शपले उहाँको व्यवसाय मात्रै चलेको छैन, अन्य पाँच जनालेसमेत रोजगारी पाइरहेका छन् ।

“पाँचखाल क्षेत्रमा नै भनेको जस्तो, ग्राहकले खोजेको कफी शप थिएन, ग्राहकको रोजाइअनुसारको व्यवसाय पनि सञ्चालन गर्नुप-यो भन्ने सोचका साथ यो नयाँ व्यवसाय थालनी गरेको हुँ”, उहाँले भन्नुभयो, “अहिले राम्रोसँग नै चलिरहेको छ ।”

नगरपालिकाअन्तर्गत अरनिको राजमार्गको खावा, केराघारी र ३८ किलो क्षेत्रबाहेक पाँचखाल बजार क्षेत्रमा कफी शप सञ्चालनमा थिएन । अहिले उहाँले कफी शप सञ्चालनमा ल्याएसँगै कृषि नगर पाँचखाल क्षेत्रमा व्यावसायिक संस्था विस्तारै विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ ।

उहाँले थालनी गरेको सो व्यवसाय करीब एक महिना भयो । बन्दाबन्दीपछि किताब र स्टेशनरीको व्यवसाय खासै नभएपछि त्यससँगै गुणस्तर बेकरी उत्पादन गर्नुका साथै कफी शप सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । पच्चीस वर्ष अगाडिदेखि स्टेशनरी सञ्चालन गर्दै आउनुभएका उहाँले अर्को व्यवसाय पनि शुरु गर्नुभएको हो ।

अहिले उहाँको पसलमा केक, कुकिज, पेष्ट्रि लगायतको उत्पादन तथा बिक्री भइरहेको छ । “अहिले बजारमा अलि अखाद्य वस्तु हालेर बेकरी बनाएर उत्पादन गरिरहेको देखेको छु, व्यवसाय गरेपछि राम्रो चिज हालेर उत्पादन गर्ने सोचका साथ त्यसलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढिरहेको छु”, उहाँले भन्नुभयो, “अहिले नेपालीमा कफी खाने संस्कारको पनि विकास हुँदै गएको अवस्थामा पाँचखाल क्षेत्रमा नै यस्तो खालको व्यवसाय नभएका कारण पनि दुवैलाई जोडेर सँगसँगै व्यवसाय सञ्चालन गरेको हुँ ।”

उद्योग वाणिज्य सङ्घको उपाध्यक्षसमेत रहनुभएका उहाँले त्यससँगै व्यवसाय विस्तारका लागि समाजकल्याण चोकमा सोरुमसमेत सञ्चालन गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij