• Monday 2nd of November 2026

नौ व्यावसायिक फर्मलाई कारवाही


  • आशाका किरण

जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय वाग्मती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधिसहितको टोलीले मङ्गलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मूल्यसूची नराखिएका सात व्यावसायिक प्रतिष्ठानलाई रु ५०÷५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई संस्थालाई रु २०÷२० हजार जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जरिवाना तोकिएका व्यावसायिक प्रतिष्ठानमा भरतपुर महानगरपालिका–५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नं २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडर्स चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर–२ कै विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इञ्जिनीयरिङ इन्टरप्राइजेज र वडा नं ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्यसूची नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरूलाई रु ५०÷५० हजार जरिवाना तोकिएको हो ।

यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्यसूची नराखेका भरतपुर महानगरपालिका–१० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नं २ को एसएच ट्रेडर्सलाई रु २०÷२० हजार जरिवाना तोकिएको छ । उनीहरूलाई संरक्षण कार्यालयले अनुगमनका क्रममा नै जरिवाना तोकेको हो । एक साताभित्र जरिवाना वाणिज्य बैंकमा जम्मा गर्न निर्देशनसमेत दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij