सुदर्शन बजगाई,आशाका किरण समाचार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ कमिटीद्वारा आयोजित विशाल जनसभामा केपी ओलीको क्रेज देखिएको छ। कार्यक्रममा केपी ओलीको भाषण सुन्न लाखौको संख्यामा जनता विराटनगरमा उत्रिएका हुन्। प्रधानमन्त्री केपी ओली सभास्थल प्रवेश गर्दा ओलीको पक्षमा बेग्लै माहोल बनेको थियो। हेर्नुस फोटो फिचर :






विराटनगरबाट ओली पक्षको सन्देश : चुनाव हुन्छ, विप्लवलाई पनि ल्याइन्छ
विराटनगर -प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिनाको बीचमा पूर्वी विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म पुगेर ठूला जनसभालाई सम्बोधन गरिसकेका छन् ।संयोग नै मान्नुपर्छ विभाजित नेकपाका दुवै समूहबीच ठूला जनसभा र शक्तिप्रदर्शनको होडबाजी छ । प्रचण्ड-माधव पक्षले जहाँ जनसभा गर्छन् त्यसपछि ओली त्यहीं पुगेर आफ्ना कुरा जनतालाई सुनाउँछन् ।प्रधानमन्त्री ओलीले यसबीचमा बुटवल, काठमाडौं, धनगढी र विराटनगरका ठूला सभालाई सम्बोधन गरिसकेका छन् । फागुन दोस्रो साताभित्र गण्डकी र कर्णाली प्रदेशका राजधानीमा हुने सभालाई सम्बोधन गर्न जाँदैछन् ।शनिवार आफ्नो गृहप्रदेश समेत रहेको प्रदेश १ को विराटनगरबाट ओलीले केही सन्देश दिन खोजे । पहिलो कुरा– प्रतिनिधिसभा विघटन संवैधानिक हो र देशलाई अस्थिरतामा लैजाने गरी अदालतले अन्यथा फैसला गर्दैन ।
उनले त्यसको औचित्य पुष्टि गर्न खोज्दै अहिलेसम्म नेकपाको एकल बहुमतको सरकार भएकाले प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था नभएको बताए । यदि अब संसद पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र अस्थिरता सिर्जना हुने बताए ।
ठूलो जनमानस देखेर उत्साहित भएका प्रधानमन्त्रीले आफ्नो सरकारले धेरै काम गर्न खोज्दा पार्टीभित्रैबाट र संसदबाट असहयोग भएकाले ताजा जनादेशमा जानुपरेको सन्देश दिन खोजेका छन् । ओलीलगायत सभामा बोल्ने सबै नेताले गुमेको भूभाग फिर्ता ल्याउन नक्शा प्रकाशन गरेकै दिनदेखि पार्टीभित्रबाट प्रधानमन्त्री हटाउन खोजिएको कुरा जनतालाई बुझाउन खोजेका थिए ।
विराटनगरबाट ओली र बादल अनि सुवास नेम्वाङले दिन खोजेको अर्को सन्देश के हो भने– अब विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याइन्छ । नेकपाको मूलधार बनाइन्छ र प्रचण्ड–माधव पक्षको लागि कुनै स्पेस बाँकी राखिने छैन ।
ओलीले भने- मैले प्रचण्डजीलाई पार्टीमा दोस्रो अध्यक्ष बनाएको थिएँ । तर उहाँलाई त्यो पचेन । अझै पनि मौका छ, गल्ती स्वीकार गरेर पार्टीमा फर्किनूस् नत्र पछुताउनु शिवाय केही पनि छैन । हामी अरुलाई समेटेर अघि बढ्छौं ।
ओली र बादलले अरुलाई समेटेर अघि बढ्छौं भनिरहेकै बेला प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको वक्तव्य जारी गरेपछि यसलाई संयोग मात्र मान्न सकिन्न ।
ओलीले चुनाव हुन्छ र चुनाव चिन्ह पनि आफूले नेतृत्व गरेको नेकपाले नै पाउँछ भन्दै चुनाव लक्षित भाषण गरे । उनले कोभिडविरुद्धको भ्याक्सिन आइतबार नै भारतबाट आउन लागेको पनि बताए ।
चुनावी सभाकै शैलीमा आयोजित आमसभामा सुवास नेम्वाङले एक कदम अघि बढेर फागुन १५ भित्रमै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेर फैसला दिने दाबी गरे । उनले पनि पार्टीको आधिकारिकता ओलीसँगै रहने बताए ।
केही सन्देश, केही चेतावनी
ओलीले देशभर चुनावको पक्षमा उर्लिएका जनता अदालतले देखेकै होला भन्दै जनअपेक्षा विपरीत अदालतको फैसला आए पार्टीले निरन्तर आन्दोलन अघि बढाउँदै सबैखाले अवरोध चिर्ने बताए । उनले अदालतले जनभावना विपरीत गएर फैसला नगर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।ओलीले भने- संसद विघटनमा अदालतले अन्यथा फैसला गर्छ भन्ने म कल्पना गर्न सक्दिनँ । यदि जनअपेक्षा विपरीत अदालतको फैसला आए आन्दोलनमा जान्छौं ।
उनले सरकारले तोकेको समयमा चुनाव हुने भन्दै प्रचण्ड–माधव समूहका नेतालाई जनताको ताजा जनादेश लिएर प्रधानमन्त्री बनेर देखाउन पनि चेतावनी दिए ।
गलत बाटोमार्फत प्रधानमन्त्री पद प्रचण्डलाई चाहिएको भन्दै ओलीले अवैधानिक बाटोमार्फत प्रधानमन्त्रीको पदको लोलुपता नदेख्न प्रचण्डलाई ओलीको सुझाव छ ।
उनले नेकपाको अर्को खेमा प्रचण्ड–माधव समूहलाई पार्टी फुटाएर गएकालाई मूल पार्टीमा फर्कन समेत आग्रह गरेका छन् । प्रधानमन्त्रीले गलत बाटो छोडेर आफ्नो पार्टीमा समाहित हुन पुनः आव्हान गरेका हुन् । उनले जनताको सागरमा सामेल हुन मन भए प्रचण्ड–माधव समूहका नेतालाई फर्किन आग्रह गरेका हुन् ।
