• Friday 24th of July 2026

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम


  • आशाका किरण

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ ।
सन् २०२१ जनवरी ८ मा कतार, दोहाबाट काठमाडौँ आएको आरए २४० नंको उडान काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्याण्डिङ’ भएको विषय नियमित ‘फ्लाइट डेटा’ विश्लेषण कार्यक्रममार्फत यही फेब्रुअरी ९ मा पत्ता लगाइएको निगमले जनाएको छ ।
उडानमा संलग्न पाइलटले भर्नुपर्ने ‘म्याण्डेटोरी अकुरेन्सी रिपोर्ट’ (एमओआर) मार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्बन्धित पाइलटलाई तत्काल जानकारी माग गरी निजलाई यही फागुन १२ देखि उडान बन्देज लगाइएको निगमले जनाएको छ । सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबससँग पत्राचार गरी राय माग गर्दा १०० उडान चक्र अवतरण तथा दुई महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित जाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोहीअनुरुप जहाज नियमित उडानमा रहेको निगमले उल्लेख गरेको छ ।

अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईका संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावतसमेतको छानविन समिति फागुन ११ मै गठन भई कार्यारम्भ भइसकेको निगमले जनाएको छ ।
हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुरुप थप कारवाही अगाडि बढाइने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,“आरए.२४० हार्ड ल्याण्डिङ सम्बन्धमा सम्बन्धित विभागले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ भने निगमको छानविन समितिले यसको प्राविधिक पक्ष र औचित्वका बारेमा गहन अध्ययन गरी निष्कर्षमा पुग्ने र आगामी निर्णयका लागि मार्गप्रशस्त हुनेछ ।” निगमको अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij