\n\n\n
  • Monday 26th of October 2026

२०७७ को सेयर बजारले दियो लगानीकर्तालाई उत्साह, वर्षभर रेकर्डै रेकर्ड


  • आशाका किरण

आजबाट नयाँ वर्ष २०७८ साल सुरु भएको छ । आज भन्दा ठिक एक वर्ष अघि हामीले नयाँ वर्षमा पदार्पण गरिरहँदा नेपाल शेयर बजार बन्द थियो । २०७६ साल चैत्र ९ गतेदेखि कोरोना महामारी रोकथामको प्रयास स्वरूप शेयर बजार पनि बन्द गरियो । डेढ महिना भन्दा बढी समय बन्द रहेर महामारीकै बिच वैशाख तीस गते फेरि कारोबार सुचारु भयो । यसरी २०७७ सालमा पहिलो दिन शेयर बजार खुल्दा नेप्से परिसूचक एक हजार दुई सय ५१ दशमलव ४५ विन्दुमा थियो । वर्षको अन्तिम दिन चैत्र ३१ गते मंगलबार नेप्से दुई हजार सात सय १४ दशमलव ७९ विन्दुमा पुगेको छ ।

यतिलाई मात्रै हेर्ने हो भने पनि देखिन्छ की नेप्सेले एक वर्षमा दुई गुणा भन्दा बढी अंकले छलाङ मारेको छ । यसरी कोरोना वर्षका रूपमा चित्रित वर्ष २०७७ आर्थिक क्षेत्रका सबै पाटाहरूमा निराशाजनकरुपमा व्यतीत भए पनि पुँजी बजार मामिलामा भने उल्टो रह्यो । यसबिच नेपाली शेयर बजारले केही नयाँ रेकर्ड कायम ग¥यो ।

दुई नयाँ रेकर्ड

यस वर्ष शेयर बजारले दुई नयाँ रेकर्ड कायम गरेको छ । यो वर्षको अन्तिम दिन चैत ३१ गते मंगलबार नेप्से दुई हजार सात सय ८ विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, यस वर्ष शेयर बजारमा हालसम्मकै उच्च कारोबार रकमसहित अर्को नयाँ रेकर्ड कायम भएको छ । २०७७ साल माघ २६ गते सोमबारका दिन नेप्सेमा १० अर्ब ६१ करोड ९१ लाख बराबरको कारोबार भएको थियो ।

डिम्याट खोल्नेको सङ्ख्या ह्वात्तै बढ्यो

यस वर्ष शेयर बजार र सार्वजनिक शेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षण निकै नै बढेको छ । हुन पनि आईपीओ निष्कासनमा यो वर्ष निकै नै अगाडी रह्यो । अहिलेसम्मकै सर्वाधिक ठुलो आईपीओका रूपमा नेपाल इन्फाइन्ट्रक्चर बैंकले आठ अर्बको आईपीओ जारी ग¥यो । जसले धेरै मानिसलाई शेयर बजार र आईपीओमा चासो बढायो ।

यससँगै डिम्याट खाता खोल्नेको सङ्ख्या पनि ह्वात्तै बढ्यो । यो वर्षको ८ महिनामै करिब १६ लाख बढीले डिम्याट खाता खोलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार गत साउन मसान्तसम्म डिम्याट खाताको सङ्ख्या १८ लाख ५ हजार ६०७ मात्रै रहेकोमा हाल डिम्याट खाताको सङ्ख्या ३४ लाख २ हजार २०३ पुगेको छ ।

बजारको पुँजीकरण जिडिपीको हाराहारीमा

यस वर्ष लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पुँजीकरणमा समेत परेको छ । यो वर्षको अन्तिमसम्म आइपुग्दा बजार पुँजीकरणमा समेत उल्लेखनीय वृद्धि भएको देखिन्छ । बजार पुँजीकरणमा समेत नेप्से परिसूचकमा जस्तै दुई गुणा भन्दा बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो वर्षको अन्तिम दिन चैत्र ३१ गते मंगलबारको कारोबार पछि बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९ करोड ७५ लाख ७१ हजार पुगेको छ । यो नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को हाराहारी हो । यस वर्षको पहिलो कारोबार वैशाख ३० गते मंगलबार नेपालको बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ८५ करोड ५३ लाख २४ हजार रहेको थियो ।

यसरी समग्रमा हेर्दा नेपाली लगानीकर्ताहरूका लागि भने चाहिँ वर्ष २०७७ उल्लासपूर्ण नै बन्यो भन्दा फरक पर्दैन । यो वर्ष उल्लासपूर्ण रहेको शेयर बजार नेपाली लगानीकर्ताहरूका लागि नयाँ वर्ष २०७८ कस्तो रहला त्यो भने समयले नै देखाउनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij