प्रमुख प्रतिपक्ष कांग्रेस आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउन अग्रसर भए पनि बहुमत सदस्य जुटाउन सकस पर्ने देखिएको छ । नयाँ सत्ता समीकरणका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको फरक अडानले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अघि बढेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत संख्या पुर्याउन कठिन भएको हो ।
देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक संवादमार्फत जसपाको पूर्ण समर्थन जुटाउने कसरत भने छाडेका छैनन् ।
ठाकुर–महतोले साथ दिने संकेत नमिलेपछि मंगलबार विपक्षी गठबन्धनको बैठक बस्न सकेन । कांग्रेस पदाधिकारीको बैठकले जसपाको ठाकुर पक्षलाई मनाउन नसके एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको सामूहिक राजीनामा दोस्रो विकल्प हुन सक्ने भन्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार बहुमत जुटाउन अनौपचारिक र औपचारिक तहमा सबै पक्षसँग छलफल भइरहेको छ ।
सभापति देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीहरूको बैठकमा एमालेको खनाल–नेपाल पक्षले राजीनामा नदिएसम्म बहुमत जुटाउन समस्या पर्ने निष्कर्ष निकालिएको थियो ।
- आजको कान्तिपुर बाट
