• Tuesday 8th of September 2026

व्यक्तिगत प्रयोजनका लागि अक्सिजन लगेको भन्ने आरोप कपोलकल्पित : नेपाल प्रहरी


  • आशाका किरण

नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिडिण्डर लगेको भन्ने आरोप कपोलकल्पित रहेको भन्दै दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालायले आज एक विज्ञप्ति जारी गरी प्रहरीका विरुद्धमा केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाउँदै त्यस्तो भ्रामक प्रचारप्रति विश्वास नगर्न अनुरोध गरेको छ ।

“नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिण्डर लैजाने गरेको भन्ने कपोलकल्पित आरोपमा सत्यता नरहेको प्रष्ट गर्दै वर्तमान विषम घडीमा निष्ठापूर्वक खटिने प्रहरी सङ्गठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाइनु र सामाजिक सञ्चालमा प्रचारित गरिनु दुःखद छ”, सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुःखद घडीमा एक जनाको ज्यान बचाउन सकिएमा पनि पुण्य हुने ठानी खटिएका प्रहरीका तमाम कर्मचारीले निर्वाह गरेको कर्तव्यपालनाका सम्बन्धमा नै गलत सन्देश पुग्ने प्रकृतिका सूचना सम्प्रेषण हुनु सर्वथा अनुचित रहेको प्रहरीले जनाएको छ ।

कोभिड महामारी हुनु पूर्वदेखि नै प्रहरी अस्पतालले शङ्कर अक्सिजन प्लान्ट बालाजुबाट अक्सिजन नियमित लिने गरेको जानकारी गराउँदै प्रहरीले यस महामारीमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले प्रहरी अस्पताललाई तोकेको कोटा (२०० सिलिण्डर) भन्दा न्युन अक्सिजनबाट अस्पताल सञ्चालन भइरहेको जनाएको छ । विज्ञप्तिमा अहिले पनि अस्पतालमा २०८ कोभिडका बिरामीको निःशुल्क उपचार भइरहेकाले उनीहरुका लागि अक्सिजन आवश्यक रहने स्पष्ट पारेको छ ।

सचिवालयले महामारीको समयमा स्थितिलाई निस्तेज पार्न संयुक्त प्रयास जारी राखेको र उपचारमा अक्सिजनको कमी हुन नदिन नेपाल प्रहरीले विभिन्न प्रयोजनमा रहेका सात हजारभन्दा बढी उपयोगी अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई देशभरका विभिन्न अस्पतालमा वितरण गरेको जानकारी गराएको छ । सङ्क्रमणबाट बच्न सर्वसाधारणलाई निःशुल्क मास्कसमेत वितरण गर्दै आएको र आगामी दिनमा पनि महामारी विरुद्धको अभियानमा सक्रियतापूर्वक लाग्न दृढ सङ्कल्पित रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

“आम नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, स्वास्थ्य क्षेत्रमा देखिएका प्रतिकूलताबीच निदानमा हाम्रो पनि योगदान रहन्छ भन्ने अभिप्रायले प्रहरी कर्मचारीका लागि भनी निर्माण ग्िएको प्रहरी अस्पतालले कोभिड सङ्क्रमित आमनागरिकको उपचारमा यथाशक्य स्थान दिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij