कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अन्ततः काठमाडौं उपत्यकामा मेडिकल अक्सिजनको आपूर्ति र व्यवस्थापनबाट हात झिकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित काममा हस्तक्षेप गरेर अधिकार केन्द्रीकृत गरेको तथा अक्सिजन आपूर्तिमा सहजीकरण गर्न नसकेको भन्दै तीव्र आलोचना भएपछि सिसिएमसी चार दिनमै पछि हटेको हो । २७ वैशाखबाट सिसिएमसीले अक्सिजन वितरणमा कोटा प्रणाली लागू गरी छाउनीबाट व्यवस्थापन थालेको थियो ।
मुख्यसचिव शंकरदास बैरागीसहित सम्बन्धित मन्त्रालयका सचिवहरूको बिहीबार भएको बैठकले स्वास्थ्य मन्त्रालयबाट जारी ‘मेडिकल अक्सिजनको प्रयोग र आवश्यकतासम्बन्धी मापदण्ड २०७८’ अनुसार नै आपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ । सिसिएमसीले हचुवाको भरमा अक्सिजनको कोटा निर्धारण गरेको भन्दै निजी तथा सामुदायिकसँगै केही सरकारी अस्पतालले समेत स्वास्थ्य मन्त्रालयसँग असन्तुष्टि जनाएका थिए । स्वास्थ्यले मुख्यसचिवसामु प्रस्ताव लगेको थियो ।
नयाँ पत्रिका दैनिकबाट
