• Sunday 1st of November 2026

तरकारीको मूल्य घट्यो, कुखुराको मासु समेत सस्तियो


  • आशाका किरण

महिना दिन अघि किन्नै नसकिने गरी महँगिएको तरकारीको मूल्य एकाएक सस्तो भएको छ। एक महिना अघि हरियो तरकारीको मूल्य छोई नसक्नु गरी बढेकोमा अहिले सस्तिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वैशाख ६ गते तोरीको सागको थोक मूल्य प्रति केजी ५५ रुपैयाँ थियो । तर,  जेठ ५ गते तोरीको सागको मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ । एक महिना अघिको मूल्यसँग तुलना गर्ने हो भने तोरीको सागको मूल्य आधाले घटेको हो।

त्यसो त कोरोना महामारी बढेसँगै काठमाडौँ उपत्यकाबाट ठुलो सङ्ख्यामा मानिसहरू बाहिर गएका छन्। त्यसैले तरकारीको उपभोक्ता सङ्ख्याको हिसाबले पनि  घटेकाले तरकारीको मूल्य सस्तो भएको हो।

यो एक महिना अवधिको सूचि हेर्ने हो भने वैशाख ६ मा परवलको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँमा कारोबार भएको थियो।  तर त्यही तरकारी  जेठ ५ गते प्रतिकेजी ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, घिरौँला प्रतिकेजी औसत मूल्य ७० रुपैयाँ रहेकोमा अहिले प्रतिकेजी औसत मूल्य ३७ रुपैयाँमा किनबेच भइरहेको छ । घिउ सिमी वैशाख ६ गते प्रतिकेजी औसत मूल्य ११५ रुपैयाँ रहेको थियो। तर, जेठ ५ बुधवार  घटेर प्रतिकेजी औसत मूल्य ५५ भएको छ । त्यस्तै गाजर प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेकोमा अहिले आएर प्रतिकेजी औसत मूल्य ४२ रुपैयाँ रहको छ ।

त्यसै गरी कुखुराको मासुको मूल्य समेत ४५ प्रतिशतले सस्तो भएको छ। तर, खसी र माछाको मूल्यमा भने खासै कमी आएको छैन।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij