प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शान्तितर्फको चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज २५६५औँ बुद्ध जयन्तीको अवसरमा एक सन्देशमा सो कुरा बताएका हुन् । साथै उनले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले २५६५औँ बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसको अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ, म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन, त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’
मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फको चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको बताएका छन् ।
