• Tuesday 8th of September 2026

इन्द्रावतीको बाढी : पाँचखाल खानेपानीमा क्षति


  • आशाका किरण

इन्द्रावती नदीमा आएको बाढीले जिल्लाको पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजनाको मुहानमा क्षति पुगेको छ । मंगलबार साँझदेखि लगातार आएको बाढीले आयोजनामा मुहानमा निर्माणाधीन संरचनामा दुई करोडभन्दा बढीको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ ।

इन्द्रावती नदीमा आज बुधवार कोभन्दा ठूलो बाढी आइरहेकोले भुम्लु गाउँपालिका–१० बिमिरेस्थित मुहानका सबै संरचना ध्वस्त भई ठूलो क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले जानकरी दिनुभयो । उहाँका अनुसार मुहानको इन्टेक, २० ठूला पम्प, प्यानल बोर्ड, पाइप तथा प्रोटेक्सन वालमा क्षति पुगेको छ भने निर्माणार्थ राखिएको सय टिपरभन्दा बढी वालुवा र केही मात्रामा सिमेन्ट बगाएको छ । “हामी आउँदो २० गते लगभग मुहान क्षेत्रको काम सम्पन्न गर्ने लक्ष्यका साथ लागेका थियौँ, आयोजना निर्माण कम्पनीको आजको थपक्षति बिवरण अनुसार मुहान क्षेत्रका दुई करोडभन्दा संरचनामा क्षति पुगेको प्रतिवेदन आएको छ” उहाँले भन्नुभयो ।

अविरल बर्षाका कारण गत मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्ची बजारका सयौँ घरटहरा बगाएको थियो । बाढीका कारण हालसम्म एकको शब फेला परेको छ भने सात स्थानीय बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सयौँ घरबारविहीन हुनुका साथै मेलम्ची खानेपानी आयोजनाका आठ कामदारसमेत सम्पर्कविहीन भएको जनाइएको छ भने ३७ कामदारको उद्धार गरिएको छ । खोलामा बाढी आएदेखिनै अबरुद्ध भएको विद्युत आपूर्ति नहुँदा सञ्चारविच्छेद हुँदा मेलम्ची बजारमाथिको क्षेत्रको अवस्था र क्षतिबारे विवरण आउन नसकेको बतान्छ । इन्द्रावती नदीको मुहान क्षेत्र मानिने सिन्धुपाल्चोकमा भने मेलम्ची खोलाले चिनिन्छ ।

गतसालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको पाँचखाल बृहत शहरी खानेपानी आयोजनाको कामले तीव्रता पाउँदै आएको थियो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका १० वटा वडाका सात हजारलाई खानेपानी पु-याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको थियो । परियोजनाको २०७६ भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो ।

खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएपनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने जनाएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजना अन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत खानेपानी सबैभन्दा ठूलो मानिएको छ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् ।

खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिकाअन्तर्गत इन्द्रावती नदी किनारमा इनार तथा लिप्mिटङ प्रविधि निर्माणका लागि मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको लामिछानेले बताउनुभयो । हाल बाढीले क्षति पु-याएपछि निर्धारित समयमा आयोजना सम्पन्न नहुने भएको हो । हाल आयोजनाको सम्पूर्ण सर्बेको काम सकेर आयोजनाको कार्यालयलगायत वितरण केन्द्रहरुमा भौतिक निर्माणको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij