• Saturday 31st of October 2026

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा


  • आशाका किरण

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले राससलाई जानकारी दिनुभयो ।

महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारवाही गरेको थियो । शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही भइरहेको छ ।

एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताउनुभयो । शुक्रबार कारवाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij