• Saturday 25th of July 2026

हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद


  • आशाका किरण

–धु्रवसागर शर्मा

आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ भन्ने नारासहित खिर दिवस आयोजना गरेको छ । गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ ।

हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ । भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खिर पाक्न थालेकाले खिरको मौलिक स्वाद विस्थापित हुँदै गएको बेनी नगरपालिका–२ का पदमपाणि शर्माले बताउनुभयो । “गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु” ६८ वर्षीय शर्माले भन्नुभयो, “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहैै छैन ।”

गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खिर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्व प्राप्त हुने आर्युवेद शास्त्रमा उल्लेख छ । त्यस्तै वर्षा ऋतु, झरी–बादलका बेला र साउन महिनाको मध्यमा खिर खानाले शरीर स्वास्थ हुने भएकाले यस वर्षदेखि साउन १५ लाई खिर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।

वर्षेनी आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गर्छ । कडेँल डेरीकी सञ्चालिका राधिका कडेँलका अनुसार साउन १५ मा खिर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ६४ लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन ।

चौधौँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट शुरु भएको खिर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकमा फैलिएको छ । विशेषगरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशमा खिर खाने चलन बढिरहेको पाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब रु ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । कृषि क्षेत्रमध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij