• Saturday 25th of July 2026

कालीकोटमा सञ्चार सेवा अवरुद्ध


  • आशाका किरण

कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो । टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको व्यापारी भीमप्रसाद आचार्यले बताउनुभयो । “टेलिफोन र मोबाइल सेवा सञ्चालनमा आउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “बाहिर सम्पर्क गर्न टेलिफोन र इन्टरनेट सेवासमेत अवरुद्ध छ ।”

इन्टरनेट सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय सेवाबाट सञ्चालनमा समस्या रहेको मेघा बैंकका कालीकोट शाखा प्रबन्धक रोहनकुमार विष्टले बताउनुभयो । “फोन सेवा अवरुद्ध हुँदा इन्टरनेट सेवा सञ्चालनमा आएको छैन”, उहाँले भन्नुभयो, “इन्टरनेट नहुँदा बैंकिङ सेवा लिन सेवाग्राही मर्कामा परेका छन् ।”

टावरमा आएको खराबीका कारणले टेलिफोन सेवा अवरुद्ध रहेको र टावर सञ्चालनका लागि काम भइरहेको नेपाल टेलिकम कार्यालय मान्मका प्राविधिक टोपराज न्यौपानेले जानकारी दिनुभयो । “टावरमा खराबी आउँदा फोन सेवा अवरुद्ध भएको हो । अहिले पनि मर्मतको काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “नेपालगञ्जबाट थप सामान आइसकेको छ, चाँडै टेलिफोन सेवा सञ्चालन हुनेछ ।”

टेलिफोन सेवा अवरुद्ध हुँदा कालीकोटका नागरिक बाहिरी सम्पर्कबाट टाढा रहेको नरहरिनाथ गाउँपालिका–१ कोटबाडाका शिक्षक शेरबहादुर विष्टले बताउनुभो । “एक हप्तादेखि बाहिर रहेका आफन्तसँग सम्पर्क हुनसकेको छैन”, उहाँले भन्नुभयो, “फोन सेवा अरुवद्ध भएका कारणले अनलाइन कक्षा पढ्ने विद्यार्थी मर्कामा परेका छन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij