• Saturday 31st of October 2026

दुई हजार बढीले भत्ता नवीकरण गरेनन्


  • आशाका किरण

कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन ग-यो । प्रत्येक वडा तहमा स्थानीयलाई पायक पर्ने ठाउँमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले वार्षिक नवीकरण गर्नुपर्ने र वडा कार्यालयमा धेरै भीडभाड हुने भएकाले शिविर सञ्चालन गरेको थियो । नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्याङ्कमा शिविरबाट दुई हजारभन्दा बढीले आफ्नो भत्ता नवीकरण नगरेको पाइएको छ ।

नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको तथ्याङ्कअनुसार अझै पनि दुई हजार १७६ व्यक्तिको भत्ता विवरण अद्यावधिक गर्न बाँकी छ । त्यसमा पनि वडा नं १ मा सबैभन्दा बढी छन् । अझै १ नं वडामा ८८३ ले भत्ता विवरण अद्यावधिक गराएका छैनन् । त्यस्तै वडा नं २ मा ३११, वडा नं ३ मा ९९, वडा नं ४ मा ७३, वडा नं ५ मा १८८, वडा नं ६ मा १३४, वडा नं ७ मा ११०, वडा नं ८ मा २८४ र वडा नं ९ मा ३१ जनाले आफ्नो भत्ता नवीकरण गराएका छैनन् ।

नगरपालिका पञ्जीकरण उपशाखा एमआइएस अपरेटर कुष्माखर जैशीले भत्ता नवीकरण म्याद भदौ मसान्तसम्म रहेकाले लाभग्राहीको सहजीकरणका लागि गाउँगाउँमा शिविर सञ्चालन गर्दा पनि लाभग्राही नआउँदा कतै भोलि कोही छुट भएको अवस्थामा समस्या आउने भन्दै पुनः सूचना जारी गरेको बताउनुभयो । “हामीले लाभग्राहीलाई भदौ मसान्तसम्म वडा कार्यालयमा गएर भत्ता नवीकरण गर्न भनेर सूचना जारी गरेका छौँ, कोही छुट भएमा त्यसको जिम्मेवारी हामी हुने छैनौँ”, जैशीले भन्नुभयो, “भत्ता नवीकरण नभए एक वर्षका लागि राज्यबाट पाउने सुविधा बन्द हुनेछ, एक वर्षसम्म भत्ता नवीकरण गर्न छुटेकाले भत्ता पाउने छैनन् ।”

उहाँले कतिपयले भत्ता फारम अद्यावधिक गराउने र बैंकमा खाता खोलेर घर जाने गरेका कारण पनि सुविधाबाट बञ्चित हुने गरेको बताउनुभयो । “भदौ १८ गतेसम्म हामीले नयाँ लाभग्राहीलाई आफ्नो बैंक खाता नगरपालिकाको पञ्जीकरण उपशखामा टिपाउन पनि आग्रह गरेका छौं”, उहाँले भन्नुभयो, “जसले भनेको समयसम्म आफ्नो खाता विवरण उपलब्ध गराउँदैन त्यसले पनि पाएको सुविधाबाट बञ्चित हुनुपर्ने छ ।”

नगरपालिकामा नौ हजार ३० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । त्यसमा ज्येष्ठ नागरिक तीन हजार ९९०, ज्येष्ठ नागरिक दलित ९१५, ज्येष्ठ नागरिक एकल महिला ८५२, विधवा भत्ता लाभग्राही एक हजार ५९५, पूर्ण अपाङ्गता भएका व्यक्ति ९६, अतिअशक्त अपाङ्गता भएका ३७४, दलित बालबालिका एक हजार ११८ र लोपोन्मुख जातिका ९१ लाभग्राही रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखामा तथ्याङ्क छ । सोमा ३३६ जना नयाँ लाभग्राही चालू आर्थिक वर्षमा थपिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij