• Tuesday 8th of September 2026

उपाध्यक्ष ढुङ्गेलको बिदाइ


  • आशाका किरण

राष्ट्रिय युवा परिषद्ले पाँच वर्ष परिषद्का कार्यकारी उपाध्यक्षका रूपमा कार्यभार सम्हाल्नुभएका माधवप्रसाद ढुङ्गेललाई बिदाइ गरेको छ । परिषद् स्थापनाकालदेखि कार्यकारी उपाध्यक्ष रहँदै आउनुभएका उहाँलाई गत कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेपछि सोमबार सानोठिमीस्थित परिषद् कार्यालयबाट बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा ढुङ्गेलले आफू उपाध्यक्ष हुँदा परिषद्लाई युवाको नेतृत्व विकास र उद्यमशीलताका क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले पाँच वर्षमा आफूले गरेको कामको प्रगतिबारे जानकारी गराउँदै देशभरका युवाको सरोकार र आशा तथा भरोसाको केन्द्र परिषद् बनेको दाबी गर्नुभयो ।

स्वदेशमा रहेकादेखि विदेशबाट फर्किएका युवाले अब देशमै केही गर्नुपर्छ भन्ने अवस्थामा परिषद्ले पु-याएको बताउँदै उहाँले बिनाधितो र बिनाब्याज ऋण उपलब्ध गराउने कार्यक्रमले युवालाई स्वदेशमै उद्यमी बन्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो । युवालाई सीप र रोजगारसँग जोडेर स्वदेशमै स्वरोजगारको सिर्जना गर्न अभिप्रेरित गरेको चर्चा गर्दै ढुङ्गेलले सहुलितपूर्ण कर्जाले रु एक लाख १२ हजार, युवा उद्यम समूहलाई रु ५ लाखका दरले उद्यमका लागि हालसम्म ३९७ समूहलाई बिनाधितो, बिनाब्याज ऋण प्रवाह गरिएको बताउनुभयो । दिगो विकासलाई उद्यमसँग जोड्दै एक शिक्षण संस्था एक उद्यम कार्यक्रम लागू गर्न सकै वर्षमा ३५ हजार युवा उद्यमी जन्मिने उहाँको भनाइ छ ।

कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले ढुङ्गेलको कार्याकालमा युवालाई नेतृत्व विकास गर्न कोशेढुङ्गा सावित भएको चर्चा गर्दै थोरै बजेटमा पनि युवाका क्षेत्रमा धेरे काम गर्दै सहुलियपूर्ण कर्जा, नमूना युवा संसद्जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन भएको बताउनुभयो । परिषद्का कार्यकारी सदस्य तिलोत्तम पौडेलले उपाध्यक्ष ढुङ्गेलले युवालाई सहुलितपूर्ण कर्जा, बिनाधितो ऋण प्रवाह, नमूना युवा संसद्, युवा नवप्रवद्र्धन केन्द्रजस्ता उपलब्धिमूलक काम भएको बताउनुभयो ।

विगत चार वर्षदेखि युवालाई संसदीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले नमूना युवा संसद् अभ्यास कार्यक्रम गर्दै हालसम्म ९१ स्थानीय तह, सात प्रदेश र एक सङ्घीय तह गरी जम्मा १८४ तहमा नमूना युवा संसद्को अभ्यास भएको बताउनुभयो । देशभरका युवालाई जोड्न उहाँले युवा क्लब सञ्जाललगायत विभिन्न सञ्जाल गठन गर्दै, एक शिक्षणसंस्था एक उद्यम कार्यक्रमको थालनी, एक स्थानीय तह, एक वडा, एक युवा क्लब, एक उद्यम कार्यक्रम मोडल, राष्ट्रपति युवा महिला उद्यमको मोडेलजस्ता कार्यक्रम अगाडि सारेको बताउनुभयो । ढुङ्गेलले युवालाई सकारात्मक सोच, लागुपदार्थ दुव्र्यसनीविरुद्धको सचेतना, उद्यमशीलता र रोजगार, कानूनी साक्षरता र साइवर अपराधलगायत विषयमा मागमा आधारित निःशुल्क परामर्श सेवा प्रदान हालसम्म १८ हजार युवालाई तालिम दिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij