• Saturday 25th of July 2026

साढे तीन महिनादेखि महाकाली पुलको काम प्रभावित


  • आशाका किरण

सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ ।

गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुङ्गाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । “हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुङ्गा आवश्यक थियो”, पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफासी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भन्नुभयो, “अहिले डिजाइन परिर्वतनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।”

उहाँले पुलको ‘स्ल्याप’ ढलानको काम सकिएको जानकारी दिनुभयो । “७.८ किमी छ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “गाइडबण्डका लागि स्थानीय प्रशासनसित समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुङ्गा ल्याए पनि त्यसले पर्याप्त भएन ।”

उहाँका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुङ्गा आवश्यक थियो । रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

“पुलको रेलिङ र रङ्गरोगनको काम गर्ने तयारी हुँदैछ”, उहाँले भन्नुभयो, “मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।” सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा छ ।

यहाँको महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताउनुभयो । “कोरोनाका कारण डिजाइन परिर्वतनको काममा केही ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “छिट्टै डिजाइन परिर्वतनको काम सकिनेछ ।” उहाँले पुलको अरु काम भने सञ्चालन रहेको बताउनुभयो ।

विसं २०७४ भदौदेखि सुरु भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब रु २० करोडभन्दा बढीको क्षति पु-याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij