• Saturday 25th of July 2026

विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न निर्देशन


  • आशाका किरण

कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा काम प्रभावित हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु कुसियत यादव र वन निर्देशनालयका प्रदेश निर्देशक गोविन्दप्रसाद दाहालबीचमा भएको छलफलपछि उहाँले सो निर्देशन दिनुभएको हो ।

कोहलपुरादेखि सुर्खेतसम्म १३३ केभी प्रशारण लाइन र पश्चिम सुर्खेतमा देखिएको समस्याका बारेमा पनि छलफल भएको मन्त्री सिंहले बताउनुभयो । उहाँले योभन्दा अगाडि प्रदेशका १० जिल्लाका नेपाल विद्युत् प्राधिकरणका प्रमुख र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुखसँग छलफल गर्नुभएको थियो ।

छलफलमा निर्देशक दाहालले वातारणीय प्रभाव मूल्याङ्कन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभावी सर्वेक्षण गर्दा योजना वस्तुवादी नभएको जानकारी दिनुभयो । कर्णालीका १० जिल्लामा विद्यतीकरणको काम वन क्षेत्रभित्र गर्दा अवरोध हुने भएकाले त्यसको समाधानमा सहजीकरण गर्न मन्त्रालयका सचिव र वन निर्देशकको नेतृत्वमा समिति गठन गरिएको बताइएको छ ।

यो समितिले निष्कर्ष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी सो समितिसँग छलफल गरेर समस्याको समाधान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij