• Friday 11th of September 2026

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै


  • आशाका किरण

डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिनुभयो ।

ती मध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु ४७ लाख ५० हजार र फलफूलका रु छ लाख गरी रु ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो । बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ ।

टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनोलगायतका २० प्रजातिका वन बिरुवा र आँप, कटहर, लिची, नरिवल र सुपारीको बिरुवा वितरण गर्न लागिएको उहाँले बताउनुभयो । “यीमध्ये श्रीखण्ड र रुद्राक्ष बहुमूल्य प्रजातिका रुख हुनुका साथै धार्मिक दृष्टिकोणले समेत घरघरमा लगाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यी बिरुवा हालै मात्र वितरण गर्न थालिएका हो ।” यी बिरुवा अन्यत्र नर्सरीबाट किन्दा रु दुई सयभन्दा बढी पर्ने भए पनि निःशुल्क वितरण गर्न लागिएको उहाँको भनाइ छ । यो वर्ष श्रीखण्डको मात्र १० हजार विरुवा वितरणका लागि तयारी अवस्थामा रहेको छ ।

डिभिजन वन कार्यालयअन्तर्गतका सात नर्सरीमा बिरुवा तयार भइरहेका छन् । जलथल, चन्द्रगढी, बहुवन, सुरुङ्गा, केर्खा, प्रजापतिमा ७५÷७५ हजार र कमलधापमा ५० हजार बिरुवा वितरणका लागि तयार गरिँदैछ । त्यस्तै, १५ हजार फलफूलका बिरुवाका लागि बोलपत्र आह्वान गरिएको छ । रु १५ बराबरको बोलपत्र आह्वान गरिए पनि रु छ लाख ठेक्का लागेको कार्यालयले जनाएको छ ।

गाउँघरमा रुख बिरुवाको माग र वितरणका लागि जिल्लाभर सात जना परिचालिका खटाइएको छ । उनीहरुले नै बिरुवाको माग विवरण तयार गर्ने सोहीअनुरुप बिरुवा तयार गरी वितरण गर्ने गरिएको छ ।

यस्तै, झापाका जडीबुटी पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको छ । चालु आर्थिक वर्षमा जिल्लाका पाँच वटा पकेट क्षेत्रलाई लक्षित गरी रु नौ लाख अनुदान आएको हो । हल्दीबारी गाउँपालिका सहित भद्रपुर , गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकाका जडीबुटी पकेट क्षेत्रमा खेती विस्तार तथा भण्डारणका लागि अनुदान आएको सहायक वन अधिकृत खत्रीले बताउनुभयो ।

जडीबुटी विकास (सङ्घ सशर्त) तर्फको सो कार्यक्रमअन्तर्गत पामारोजा, लेमनग्रास, पचौली, तुलसी, सतावरी र अश्वगन्धा खेती तथा भण्डारण गर्ने कृषकका लागि लक्षित गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij