• Saturday 25th of July 2026

क्षमताभन्दा दोब्बर कैदीबन्दीः व्यवस्थापनमा समस्या


  • आशाका किरण

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण गर्मी समयमा अलि बढी समस्या हुने गरेको छ । नेपालगञ्जमा यतिबेला अत्यधिक गर्मी भएका कारण कैदीबन्दीमा लुतो लगायतका सरुवा रोग र शौचालयको समस्या हुने गरेको छ ।

जीर्ण अवस्थामा रहेको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्नुपर्दा छालालगायत विभिन्न सरुवा रोगको समस्या देखिएको कारागारका स्वास्थ्य शाखा प्रमुख कविराम बुढाथोकीले जानकारी दिनुभयो । अहिले गर्मीका कारण कैदीबन्दीहरु दैनिकजसो बिरामी पर्ने गरेको उहाँको भनाइ छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्नु परेकाले उनीहरुले न्यूनतम सुविधासमेत पाउनबाट वञ्चित बनेका छन् । कैदीबन्दीलाई व्यवस्थित रूपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका–३ नौंबस्तामा तीन हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको कारागार प्रमुख सोनकरको भनाइ छ । उहाँले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाइ हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताउनुभयो ।

रक्तदान अभियान

बाँकेमा रगतको अभाव हुन नदिन नेपालगञ्जस्थित कारागारका कैदीबन्दीले नियमित रक्तदान अभियान सुरु गरेका छन् । कैदीबन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुन नदिन कारागार प्रशासनको संयोजनमा कारागारभित्रै रक्तदान अभियान सुरु गरिएको कारागार प्रमुख रामकुमार सोनकरले बताउनुभयो ।

उहाँका अनुसार, कैदीबन्दी रक्तदान गर्न स्वस्फूर्त रुपमा तयार भएपछि कारागारभित्रै रक्तदाता दिवसका अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरिएको हो । एक सयजना कैदीबन्दीले रक्तदान गरेका छन् । यो अभियानलाई निरन्तरता दिइने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij