• Friday 11th of September 2026

काभ्रेका दुई नगरपालिकाको खानेपानी दूषित


  • आशाका किरण

जिल्लाका दुई ठूला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ ।

परीक्षणबाट दुई नगरपालिकाको खानेपानीमा पानीजन्य रोगको जोखिम पुष्टी भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेडाइँंले बताउनुभयो । उहाँका अनुसार धुलिखेलमा धुलिखेल खानेपानी आयोजनाद्वारा वितरण भइरहेको तथा खानेपानी संस्थानद्वारा बनेपामा वितरण भइरहेको खानेपानीमा दिसाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको हो ।

यस्तै दुई ठूला नगरपालिकाको खानेपानी दूषित पाइएपछि कार्यालयले अन्य स्थानीय तहमा वितरीत खानेपानी परीक्षण थालेको जनाएको छ । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा खानेपानीको नमूना सङ्कलनकार्य भइरहेको सेढाइँले बताउनुभयो ।

“अन्य स्थानीय तहका खानेपानी क्रमशः परीक्षण गर्दै जानेछौँ”, उहाँले भन्नुभयो । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । हाल जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । सेढाइँले भन्नुभयो, “सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।”

कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएकोसमेत स्वास्थ्यप्रमुख सेढाइँले बताउनुभयो । कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिल गरेको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij