• Friday 11th of September 2026

नाडा अटो शो स्थगित


  • आशाका किरण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आज बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।

सरकारले प्रतिबन्ध लम्ब्याएसँगै नाडाले आयोजना गर्न लागेको अटो शो केही समयका लागि स्थगन गरिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिनुभयो ।

“सरकारले भदौ १४ गतेबाट सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाए पनि हामीले दशैँ अगाडि अटो शो गर्न नसक्ने भयाँै, अटो शो आयोजना गरेर मात्र हुँदैन, शोमा देखाउन गाडी ल्याउन सक्ने अवस्था नै नभएपछि हामीले अनिश्चित कालका लागि अटो शो स्थगनको निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो ।

महासचिव उप्रेतिका अनुसार सवारी साधन आयातमा सहज हुँदा भारतबाट गाडी ल्याउन मात्र डेढ महिनालाग्छ भने अन्य देशबाट नेपालमा गाडी आयात गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij