• Thursday 10th of September 2026

एटिएम मेसिन फुटाउँदै गरेको आरोपमा एक पक्राउ


  • आशाका किरण

पोखराको लेखनाथस्थित अघौँ चोकमा एटिएम मेसिन फुटाएर पैसा निकालेर भागेका एक युवा समातिएको एक महिना नपुग्दै सोमबार राति पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

पोखरा–६ बैदामस्थित बाराही चोकको एनएमबी बैंकको एटिएम मेसिन फुटाउँदै गरेको आरोपमा धादिङ जिल्ला त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भई पोखराको बगालेटोलमा बस्दै आएका २५ वर्षीय मनोज कुमाललाई कास्की प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले कुमाललाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञान खड्काले जानकारी दिनुभयो । कुमाललाई जिल्ला अदालत कास्कीबाट म्यादथप गरी घटनाका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

त्यसैगरी सोमबार दिउँसो पोखराको नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम मेसिनभित्र लामो समयसम्म एटिएम मेसिन चलाइराखेको अवस्थामा उजुरी परेपछि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ तर उनीहरुको साथबाट भने कुनै हतियार फेला नपरेको कास्की प्रहरीले जनाएको छ । ती दुई युवाका बारेमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij