• Friday 24th of July 2026

अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ


  • आशाका किरण

सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गर्नुभएका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्नुहुने भएको छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उहाँ झण्डै १० वर्षपश्चात अभिनय गर्दै हुनुहुन्छ । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भन्नुभयो, “मेरो छायाँङ¬्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।”

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताउनुभयो । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताउनुभयो । “हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ”, उहाँले भन्नुभयो, “यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ ।”

अभिनेता कोइरालाले अभिनय गर्नुभएको गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उहाँले सात वर्षमा सत्ताइस चलचित्रमा अभिनय गर्नुभएको थियो ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिनुभयो । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij