• Tuesday 8th of September 2026

चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य : अध्यक्ष भट्टराई


  • आशाका किरण

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज कर्णाली नदीमा -याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरुका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताउनुभयो ।

“सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको ¥याफ्टिङ, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको मूल नहर निकै रमणीय छन्”, उहाँले भन्नुभयो, “पर्यटकका लागि चिसापानी एक प्याकेज नै हो । पहाडबाट तराई झर्दा र तराईबाट पहाड चढ्दा पनि कर्णालीको जम्काभेटले थप महत्व दर्साउँछ । जसबाट राम्रो आयआर्जन गर्न सकिने सम्भावनाहरु पनि छन् ।”

उहाँले कर्णाली चिसापानीलाई राज्यले पर्यटन क्षेत्रको विकास हुने गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कर्णाली नदीमा ¥याफ्टिङपश्चात् राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाको अवलोकन तथा अनुगमन कार्यक्रममा उहाँले आयोजना निर्माणपश्चात् कैलालीको पूर्वी क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“सिँचाइ आयोजना पूरा भएपछि यस क्षेत्रका हजारौँ किसानले सहज सिँचाइ सुविधा पाउनाका साथै रोजगारीका अवसरलाई स्थापित गर्नेछ ।” पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “कृषि मात्रै नभई विद्युत् पनि उत्पादन हुने भएको हुँदा त्यसले टीकापुरलगायत आसपासका क्षेत्रका नागरिकको आर्थिक उपार्जनमा टेवा पुग्नाका साथै अन्य सम्भावनालाई पनि स्थापित गर्नेछ ।”

उहाँले आयोजनाको कामलाई तदारुकताका साथ तोकिएकै समयामा सम्पन्न गर्नेगरी काम गर्न आयोजना कार्यालयलाई निर्देशनसमेत दिनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले आयोजनाको काम समयावधिमा सम्पन्न हुने स्थिति नरहेको भन्ने जानकारी आएको बताउँदै निर्माण कम्पनीलाई कडाइका साथ काममा लगाउन निर्देशन दिनुभयो ।

“यो आयोजना सिँचाइका लागि मात्रै नभई बाढी र डुबान कम गर्नका लागि पनि महत्वपूर्ण छ । आयोजनाको काम प्रभावकारी रुपमा सम्पन्न भएको अवस्थामा स्थानीयवासीको अन्नबाली मात्रै नभई वर्षौँको त्रास पनि समाप्त हुनेछ”, उहाँले भन्नुभयो, “रानीजमरा कुलरिया सिँचाइ आयोजना मात्रै नभई देशभरका सबै राष्ट्रिय गौरवको आयोजनाको काम सन्तुष्ट हुनेगरी हुन सकेको छैन । त्यसमा निर्माण कम्पनी र आयोजना कार्यालय बढी जिम्मेवार हुनुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij