• Wednesday 9th of September 2026

चार वर्षपछि खुल्यो ताला


  • आशाका किरण

खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट रु दुई लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त सेन्टर उद्घाटन नहँुदै विवादका कारण बन्द भएको थियो ।

गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामासो सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको सेन्टरमा तालाबन्दी गरेपछि भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए ।

सेन्टर निर्माण भएपछि दुई दिन मात्रै सञ्चालनमा आयो । उद्घाटन र औषधि खरिद गरी सञ्चालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाउनुभएको थियो । निवर्तमान महिला सदस्य कृष्णादेवी थापाका अनुसार सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिला मारमा परे ।

सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत् रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सोमबार खप्तड छान्ना गाउँपालिका – ६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ । सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमति अनुसार नै जग्गादाता थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको गाउँपालिकाका उपाध्यक्ष विष्णु थापाले बताउनुभयो ।

उपाध्यक्ष थापा, सम्पूर्ण वडाका वडाध्यक्ष र स्थानीयवासीको रहोवरमा सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेजबहादुर खड्काले जानकारी दिनुभयो । गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेकोमा अब यो समस्या हट्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij