• Wednesday 9th of September 2026

घरसँगै जल्यो गोतामेको सपना


  • आशाका किरण

: शुक्रबार दिउँसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै हुनुहुन्थ्यो । सोही बेला एक्कासि घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाउन लाग्नुभयो तर उहाँको प्रयासलेमात्र आगो निभाउन सकेन। एकै छिनमा हेर्दाहेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट गोतामेले कुनै पनि सामान बचाउन सक्नुभएन ।

आर्थिक अवस्था निकै कमजोर रहेका उहाँको घरसँगै गाँस बास, कपास सबै जलेर खरानी बन्यो । दिनभरी घरको आँगनमै आराम गरिराख्नु भएका गोतामे साँझपख घरविहीन हुनुभयो । आगोमा जलेर उहाँको फर्ने एक जोड कपडा पनि रहेनन् । घरविहीन हुनुभएका गोतामे परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसेको छ ।

गाउँपालिकाले आगालागीमा सबै नष्ट भएको थाहा पाएपछि तत्कालै राहतका सामग्री उपलब्ध गराएको छ ।
छपन्न वर्षीय गोतामेको सम्पत्तिका नाममा अब दुईमुरी मकै र जौँ फल्ने पाखोबारी बाहेक अरु केही छैन ।
आगोले आफ्नो जिन्दगीभरीको कमाइ एकै छिनमा खरानी बनाइदिएको र घरमा के कसरी आगो लाग्यो भन्ने पत्ता नलागेको उहाँले सुनाउनुभयो ।

“मेरो बुढी र कान्छी बुहारी बारीमा जौँ काट्दै थिए, मैले पनि बारीमै काम गरिराखेको थिए, केटाकेटी स्कुलबाट आएर खाजा खाँदै थिए, एक्कासि घरमा आगो दन्किएको देखेँ, कसरी लाग्थ्यो थाहै भएन, म गरिब मान्छेमाथि ठूलो बज्रापात प¥यो, अब कहाँ बस्ने ?, के खाने ?,” गोतामेले भन्नुभयो– “खाइनखाई दुःख गरेर घर बनाए, यो त मेरो जिन्दगीभरिको कमाइ हो, अहिले आफन्तको घरमा बसेको छु, आफन्तको घरमा बसेर कति दिन चल्छ र ?”
आगलागीमा करिब २० लाख बराबरको क्षति भएको गुनासो गर्दै उहाँले सहयोगको सबैसँग याचना पनि गनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले अग्निपीडित गोतामेलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको र अन्य सहयोग पालिकाबाट हुने बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण समय समयमा यस क्षेत्रमा प्राकृतिक प्रकोपसँगै अन्य घटना हुने गरेकाले पालिकाले नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउनुभयो ।

अध्यक्ष बुढा मगरले भन्नुभयो,“आगलागीमा घरको सबै सामान जलेर नष्ट भएको छ, ओड्ने आछ्याउने र लत्ताकपडा केही पनि जोगाउन नसकेको जानकारी हामीहरुले पाउँदासाथ पालिकाबाट केही खाद्यन्न सामग्री र केही कपडा राहतस्वरुप दिएका छौँ, अन्य सहयोग पालिकाले दिनसक्ने हामी उपलब्ध गराउँछौँ, अहिले उहाँहरुलाई केही समयका लागि आफन्तको घरमा बस्ने व्यवस्था मिलेको छ, यो समय हावाहुरी चल्ने हुँदा आगलागीको जोखिम उस्तै छ, यसबाट अन्य स्थानीयवासी पनि सजक हुन जरुरी छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij