• Wednesday 9th of September 2026

सिर्दीमा बस दुर्घटना : २७ यात्रु घाइते


  • आशाका किरण

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

घाइते हुनेमा बस चालक पोखरा महानगरपालिका–३१ बस्ने २७ वर्षीय सुनिल विक, सहचालक पोखरा महानगरपालिका १५ बस्ने ३७ वर्षीय सुविन कुँवर, गैँडाकोट नगरपालिका बस्ने १९ वर्षीय सुशील श्रेष्ठ, सोही ठाउँ बस्ने शिवहरि श्रेष्ठ, पर्वत फलेवास नगरपालिका–१० बस्ने २१ वर्षीय विष्णुप्रसाद चापागाई, पैयु गाउँपालिका–१ बस्ने २७ वर्षीय टीकाराम न्यौपाने, पोखरा महानगरपालिका बिरौटा बस्ने २५ वर्षीय राजकुमारा माझी, सोही ठाउँका १७ वर्षीय विकास बर्तौला रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै २० वर्षीय सौरभ श्रेष्ठ, बागलुङको ताराखोला बस्ने २५ वर्षीय उपेन्द्र घर्ती, पोखरा महानगरपालिका १९ बस्ने २५ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने २३ वर्षीया सविना तामाङ, ३९ वर्षीय चेतबहादुर रानाभाट, भारत पटनाका ३३ वर्षीय प्रभातकुमार सिंह, २९ वर्षीय अनामिका सिंह, खोटाङका ५० वर्षीया कोपिला राई घाइते हुनुभएको छ ।

त्यसैगरी सोलुखुम्बुका ४७ वर्षीय कुलबहादुर राई, २५ वर्षीया नोवाङ शेर्पा, मुगु घर भई काठमाडाँ बस्ने २५ वर्षीय राजकुमार बूढा, पर्वतको फलेबास बस्ने ३२ वर्षीय टेकबहादुर थापा, बागलुङका २० वर्षीया अस्मिता छन्तेल, पोखरा महानगरपालिकाका ३० वर्षीया सोनी पुलामी, भारत विहारका १८ वर्षीय रोहित कुमार, एक वर्षीय आदित्य साहा, सुनिता देवी र ३६ वर्षीय राहुल साह घाइते हुनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij