• Wednesday 9th of September 2026

टिपरको ठक्करबाट मृत्यु


  • आशाका किरण

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उहाँको छोरा निरज घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उहाँको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेकाले अवस्था गम्भीर छ । उहाँको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नं को मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले बेलकोटगढी नगरपालिका–७ ठूलोखोलामा आज बिहान १० बजेको समयमा ठक्कर दिएको हो । ठक्कर दिने टिपर र त्यसका चालकलाई कारबाहीका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij