• Wednesday 9th of September 2026

पूर्वराष्ट्रपति भण्डारीबाट रासस कार्यालय निरीक्षण


  • आशाका किरण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको निरीक्षण गर्नुभएको छ ।

गणतन्त्र दिवस, २०८० को सन्दर्भमा आयोजित तस्बिर प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले राससको समाचार सङ्कलन कक्ष, नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्ष, तस्बिर सम्पादन कक्ष र प्रशासनिक कक्षको निरीक्षण गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, अङ्ग्रेजी समाचार सम्पादन शाखाका प्रमुख दीपराज सन्याललगायतले व्यवस्थापकीय र समाचारसँग सम्बन्धित विषयमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले राससका समाचार सेवा सन्तुलित र निर्विवाद हुने गरेको आफूले पाएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत विकास गर्दै जनताका आकाङ्क्षा र विकास निर्माणका गतिविधिलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । साथै उहाँले राससजस्ता भवन र संरचना निर्माण गर्दा नेपालीपन झल्कनुपर्नेमा पनि जोड दिनुभयो ।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई कार्यकारी अध्यक्ष झाले ‘मायाको चिनो’ प्रदान गर्नुभयो भने प्रधानसम्पादक पाठकले राससको इतिहास समेटिएको ‘रासस : हिजो र आज’ पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij