• Wednesday 9th of September 2026

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु


  • आशाका किरण

नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएको हो । यसअघि नै निर्धारण भएको बहसको समयानुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले आजदेखि बहस सुरु गरेका हुन् ।

प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसका लागि छ दिनको समय पाउनुभएको सूचना अधिकारी दाहालले बताउनुभयो । सरकारी वकिलहरुले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइने जनाइएको छ । उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ ।

सोमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij