• Wednesday 9th of September 2026

लागत मूल्य पाउँदै अण्डा उत्पादक किसान


  • आशाका किरण

लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए ।

पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १५ पाएका छन् । उहाँको भनाइमा अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो रु ७० पर्दछ ।

कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो रु ६५ सम्म पर्ने बताउनुभयो । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा रु एक सय ६५ खर्च हुने उहाँको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत १४ रुपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ । उहाँले भन्नुुभयो “बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य रु १७ पर्न आउँछ ।” अबको समयमा केही हदसम्म अण्डाको मूल्य बढेमा किसानले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले ३० प्रतिशत हाराहारी किसान विस्थापित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो “लागत मूल्य पाउन नसके पोल्ट्री व्यवसाय धरासायी हुने अवस्था छ ।” झण्डै एक वर्ष यता स्वयं व्यवसायीहरुको अग्रसरतामा गरिएको बजारीकरण पछि अण्डाले मूल्य पाएको भन्दै उहाँले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताउनुभयो । धेरै किसान ऋण तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उहाँले केही ऋण थपेर उनीहरुलाई पुनः पेसामा फर्किन राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले कोभिडको समयपछि एकाएक अण्डाको मूल्य घटेसँगै किसान धरासायी हुँदै गएको बताउनुभयो । पोल्ट्री क्षेत्रमा रु दुई खर्बभन्दा बढी लगानी भएको भन्दै उहाँले यसको ४० प्रतिशत हाराहारी लेयर्स कुखुरा पालनमा खर्च भएको बताउनुभयो । उहाँले गुनासो गर्नुभयो “कुखुरा बेचेर बाँकीलाई दाना खुवाएर बचाउनुपर्ने अवस्थामा हामी छौँ ।”

नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले १० वर्ष पहिले एउटा क्रेट अण्डाको मूल्य रु तीन सयमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ७० पर्दा अण्डाको मूल्य उस्तैउस्तै छ ।” दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकीन तथ्याङ्क नभएपनि ३५ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ । दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्याधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुने चरणमा पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij