• Wednesday 9th of September 2026

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ


  • आशाका किरण

गलेश्वर, १४ साउन (रासस) : पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् ।

च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन् । पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, बिम जुनसुकै ठाउँका होटल तथा घरबासमा प्राङ्गारिक परिकारले नै पर्यटकको स्वागत गरिन्छ ।

पदयात्रामार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटक होउन् वा गुर्जा, मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरूको स्थानीय परिकारकारुपमा पहिलो रोजाइ रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताउनुभयो ।

धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महङ्गो हुन्छ । प्रोटिन र भिटामिनका लागि राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरबासका सञ्चालक रेजिना पुनले बताउनुभयो ।

“घरबासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पाहुनाले आफ्ना परिवारका सदस्य रहेका युरोप तथा अमेरिकालगायत मुलुकमा समेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।”

रातो च्याउ आलोमा रु आठ सय र सुकाएको रु चार हजारमा बिक्री हुने गरेको दरबाङस्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताउनुभयो ।

जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीवासीले जङ्गली च्याउ सुकाएर राख्ने गरेका छन् । सुकेको रातो च्याउको माग धेरै भएपछि पु¥याउनै नसकिएको उहाँको भनाइ थियो । स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउ व्यावसायिकरूपले बिक्रीवितरण नभएको रुम निवासी टेकबहादुर घर्तीले बताउनुभयो ।

अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्नाका साथै मूल्य बढ्दै गएको उहाँको भनाइ थियो । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ । जङ्गलमा पाइने अधिकांश च्याउ विषालु हुने भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् । रुमको उच्च भागमा रहेका घरमा अहिले जङ्गली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ । रातो च्याउ रुमलगायत देवीस्थान, बिम, दिच्याम, गुर्जा, ओखरबोटलगायत जङ्गलमा पाइन्छ ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि प्राङ्गारिक च्याउ उत्पादनको व्यापार गर्दै आउनुभएका सुमन पौडेलले बताउनुभयो । उहाँले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेलीका रूपमा पठाउने गरेको जानकारी दिनुभयो ।

देवीस्थानकी रुपमाया घर्ती, रुमका बुद्धबहादुर विक, देविस्थानकी माया सिउथानीलगायत यस क्षेत्रका २० भन्दाबढी व्यक्तिले जङ्गली रातो च्याउ सङ्कलन गरी बिक्री गरेर वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । रुमका बुद्धबहादुर विकले यस वर्षमात्रै रु ४७ हजारको रातो च्याउ बिक्री गरेको जानकारी दिनुभयो ।

व्यावसायिक उत्पादन गर्नसके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ थियो । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको दरबाङस्थित आत्मनिर्भर साना किसान सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन गरियो त्यसरी नै रातो च्याउको पनि बीउ विकास गर्न सकिन्छ ।”

यहाँको रातो च्याउ बिदेशमा समेत पठाउन थालिएकाले आम्दानीको राम्रो स्रोत पनि बन्दै गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij