• Saturday 25th of July 2026

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे


  • आशाका किरण

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिनुभयो । उहाँले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताउनुभयो ।

साठी वर्ष पार गरिसक्नुभएका उहाँले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताउनुभयो । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”, उहाँले भन्नुभयो, “मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।”

बुढाले विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आउनुभएको छ । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उहाँले गुनासो गर्नुभयो । “नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ”, उहाँले भन्नुभयो, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।”

बुढाजझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिनुभयो । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।” उमेरले ५६ वर्ष पार गरिसक्नुभएका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताउनुभयो ।

यसैगरी रोजगारीका लागि भारत जाँदै गर्नुभएका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उहाँ पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिनुभयो । उमेरले ४८ वर्ष लाग्नुभएका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू बर्षैँपिच्छे भारत जानुपरेको बताउनुभयो । “आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।”

बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताउनुभयो । विगत १८ वर्षदेखि भारतमा गएर काम गर्न सुरु गर्नुभएका विनयलाई सुरुमा भारतमा जानका लागि आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाउनुभयो । “पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ । साह्रै नमज्जा लागेको थिए । अहिले त बानी परिसक्यो”, उहाँले भन्नुभयो, “आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो ।”

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ । यस वर्ष पनि असारे खेतीबाली सकेर दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ । असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij