• Friday 24th of July 2026

रकम ठगी गर्ने चार जना पक्राउ


  • आशाका किरण

काठमाडौँ, ११ भदौ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट रु पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।

यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij