• Saturday 25th of July 2026

त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सुरू


  • आशाका किरण

ललितपुर, १५ भदौ : त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन गर्नु हुँदै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले दक्षिण एसियाका संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रो लागि सुखद् पक्ष हो । काठमाडौँसँग वनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरु क्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ”, उहाँले भन्नुभयो, “संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौँ । हाम्रो समानता संस्कृत भाषा हो ।”

विभिन्न देशबाट नेपाल आउनुभएका साहित्यकारलाई यहाँको संस्कृति र सुन्दरतासँग रमाउन र आनन्द लिन परराष्ट्रमन्त्री साउदले आग्रह गर्नुभयो । काठमाडौँ केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञाप्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

“महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “पहिलो संस्करणझैँ दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्दै नेपाललाई विश्वसामु प्रतिविम्बित गर्ने विषयवस्तुका बारेमा छलफल गर्नेछौँ ।”

संस्थापक निरौलाले मन र मस्तिष्क खोलेर साहित्यमा हराउन आग्रह गर्नु हुँदै प्रेरणा, प्रज्ञा र उस्तुकताले भरिएको तीन दिने महोत्सव स्मरणीय हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा ‘यशस्वी साहित्य सम्मान’ बाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनिषा कोइरालालाई सम्मान गरिएको थियो । अभिनेत्री कोइराला कार्यक्रममा उपस्थित हुनुभएको थिएन ।

यसै वर्षबाट सुरु गरिएको ‘यशस्वी पुस्तक पुरस्कार’ बाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐँठन), सिर्जनात्मक गैर आख्यानतर्फ डाक्टर नवराज केसी (शून्यको मूल्य), कथातर्फ रेनुका जिसी (सनेश), कवितातर्फ डा महेन्द्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अङ्ग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड) लाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा केएलएफका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान कुलपति निशा शर्मा, प्राध्यापक माधवप्रसाद पोखरेल, डा विवेक देवरोयलगायत उपस्थित हुनुहुन्थ्यो । यस महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला भएका छन् ।

‘सीताको भूमिका निर्वाह गर्न उत्सुक छु’ : अभिनेत्री दिव्या दत्ता

भारतीय अभिनेत्री दिव्या दत्ताले बाल्यकालमा आफूले सीतामाताको भूमिका निर्वाह गर्न नपाएको बताउनुभयो । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सञ्चालित ‘सीताको परीक्षा : दक्षिण एशियामा महिला सङ्घर्ष’ विषयक सत्रमा (सेसन) मा सहभागी हुनु भएकी अभिनेत्री दत्ताले स्कुलमा हुँदा सीताको भूमिका गर्न सबै छात्रा उत्साहित हुने गरेको बताउनुभयो ।

“बाल्यकालमा उहाँको बारेमा जति पढेकी छु, सुनेकी छु । त्यहिँ कारणले पनि मलाई उहाँको शालीनतालाई प्रस्तुत गर्न मन थियो तर, त्यो सपनामै सिमित रह्यो”, अभिनेत्री दत्ताले भन्नुभयो, “उहाँलाई पर्दामा मैले प्रस्तुत गर्न पाएँ भने बाल्यकालमा बुझेकी सीता नै प्रस्तुत गर्नेछु ।” उहाँले सीताको नाम जहिले राम्रो कार्यका लागि लिने गरेको अनुभव सुनाउनुभयो ।

“आशिर्वाद दिँदा होस् या जोडी राम्रो होस्भन्दा पनि सीतारामको जस्तो होस् भनिन्छ । किनकि त्यसको प्रभाव वा सुन्दरता नै फरक छ”, अभिनेत्री दत्ताले भन्नुभयो । महोत्सवमा सहभागी हुन् नेपाल आउनुभएकी अभिनेत्री दत्ताले नेपाली भाषा सुन्दर लागेको भन्दै भाषा सिकिरहेको बताउनुभयो । उहाँ महोत्सवअन्तर्गत चल्ने विभिन्न सत्रमा सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij