• Tuesday 8th of September 2026

कथा: प्रश्न वाचक चिन्ह ?


  • आशाका किरण

रामचन्द्र अर्याल गल्छी, धादिङ । म साइकल चढ्दछु । मैले साइकल चढ्न थालेको धेरै वर्ष भयो । साइकल मेरो रहर हो । स्वास्थ्यका लागि, पर्यावरणका लागि, सहजताका लागि साइकल मेरो रोजाइमा परेको छ । नेपालमा चाहिँ साइकल चढ्नेलाई पृथक दृष्टिकोणबाट हेर्ने गरिन्छ । सिधै साइकल गरिबले चढ्ने वा अरु साधन चढ्ने हैसियत नभएकाले साइकल भन्ने भाष्य स्थापित भएको पाइन्छ । साइकललाई गरिबीको पर्याय मानिने सोच दूषित मनोग्रन्थीका कारण सिर्जना हुने मनोरोग भन्दा फरक नपर्ला । यद्यपि विदेशमा भने साइकललाई अत्यन्तै सरल तरिकाले बुझेको पाइन्छ ।

साइकल चढ्ने मान्छे म । साइकलमा कहिलेकाँही सानोतिनो समस्या आइहाल्छ, यस्तो हुँदा म छिमेकी किसनजी कहाँ लगेर साइकलको एक्सरे, भिडियो एक्सरे, प्रेसरको जाँच गराउने गर्छु । किसनजी छिमेकी जिल्लाबाट मेरो नजिकै आई स्वरोजगार सिर्जना गरी बसेका स्वावलम्बी, लगनशील, इमानदार साइकल विशेषज्ञ हुन् । अरुले उनलाई अनेक नामले बोलाउँछन् । कसैले तँ भनेर पनि सम्बोधन गर्छन् । जसले जे भने पनि उनी आफ्नो काम गरिरहन्छन् । अरुले जेसुकै भनून् म भने किसनजी भनेर सम्बोधन गर्छु ।

किसनजी र म मिल्ने साथी पनि हौँ । एकदिन सामान्य कुराकानीको विषयबाट हाम्रो गफ राजनीतितर्फ मोडियो । उनी र म फरक पार्टीका रहेछौँ । मलाई उनी मन पर्न छाड्यो त्यस दिनदेखि ।

साइकलमा समस्या आए म अन्तै जान थालेँ । अरुलाई पनि सकेसम्म किसनकहाँ नजान सल्लाह दिन थालेँ । भूकम्पमा राहतको लिस्टमा अर्को जिल्लाबाट आएको मान्छे भनेर नाम काटिदिएँ । कोरोनामा अक्सिजनको सिलिन्डर माग्न आउँदा छैन भनेर टारिदिएँ । उनी बोल्न खोज्थे, म तर्केर हिँड्न थालेँ । मैले अति असहयोग गर्दा पनि उनको व्यापार भयङ्कर रुपले बढिरहेको देखेर मलाई सही नसक्नु रिस उठेर आयो ।

साइकल पसल भनेको कबाडी उठाउने कम्पनी जस्तै हो । यसले हाम्रो नगरपालिकाको सौन्दर्य बिगारेर कुरुप पारेको छ त्यसकारण हाम्रो नगरपालिकाबाट यस्ता पसलहरु एक हप्ताभित्र हटाइने छ भनेर नगरपालिकामा निर्णय गर्न दबाब दिएँ । अहिले नगरपालिकाले सो निर्णय गरिसकेको छ र कार्यान्वयनका लागि पहल थालेको छ ।

तिनै किसनसँग मेरो कस्तो साइनो थियो । आज तिनलाई मैले नै टिक्न नसक्ने बनाई दिएँ । अरु कुरा त केही होइन उसले ग्राहकबाट कति विश्वास बटुल्यो कति । मलाई औडाहा भएर आयो । वरिपरिका अरु पसल नचल्ने जस्ता भए । उसलाई यहाँबाट हटाउन पाए बाइको सो रुमले मेरो चार ओटै सटर मैले भनेकै भाउमा लिने सहमति जनाइसकेका छन् । किसनलाई कसरी छिटो पठाउने भन्ने नै मेरो ध्यान हो ।

सुनेँ हिजो नगरपालिकामा बिन्ती पत्र दर्ता गरेको छ रे । यसबाट निर्णय उल्टने त होइन कार्यान्वयन पर धकेलिन पनि सक्छ तर म पनि कहाँ कमजोर छु र । मैले पनि थुप्रै अस्त्र तयार गरिरहेको छु । टोलको एउटा भाइलाई वातावरण संरक्षण मञ्चको अभियन्ता बनाएको छु । सानीको छोरालाई साइकलको कारणले पैदल यात्रीले सास्ती भोग्नु परेको, नगरपालिकाले साइकल निषेध नगरे अनसन बस्ने गरी तयारी थाल्न सुझाव दिएको छु । पत्रिकाले राम्रै तरिकाले समाचार संप्रेषण गरिरहेकै छन् ।

चार ओटा सटर र गोदामबाट महिनामा पाँचसात र सेल्सको डिटेलबाट चौधपन्ध्र जति आउने भएको छ । यो किसनलाई जसरी पनि पठाउनै पर्छ यसपालि । टोलका अरु संघ संस्थालाई पनि किसन विरुद्ध एकजुट हुन निर्देशन दिएको छु ।

पत्रकारले मलाई सोध्दै थिए “स्वस्थ रहन साइकल” भन्ने नारा कहाँ पुग्यो नि सर भन्न आँटेका थिए मैले मुख टालिदिएँ ती पत्रकारको । अहिले म नि कहाँ चढ्छु र त्यो कबाडी साइकल ! मलाई सो रुमले ब्रान्ड न्यु बाइक दिइसकेको छ । यो किसनलाई हटाउन सके त झन् के के दिन्छ के के !

सानीको छोराको फोन आयो, अँ भाइ भन त !

अनसन कहिलेदेखि हो दाइ ?

( मोरालाई बाइकको लोभ छ । कति हतार गरेको ! ) ल ल भेटेर सल्लाह गरम् ला अहिले राख फोन । भोलिपल्ट पत्रिकामा समाचार आयो !

किसनको साइकल पसल बन्द !

तल बग्रल्ती कमेन्ट बर्सिए, वर्षौँदेखि लुटेको थियो किसनले ठिक्क प¥यो ।

नगरपालिकाको जय होस् ।

यस्तै यस्तै कमेन्टले छाएको थियो ।

धेरै कमेन्टको पुछारमा ढाका टोपी लगाएको मान्छेको कमेन्ट थियो :“गाँस जुटाउने पो अभियन्ता बास टुटाउने पनि अभियन्ता ? ”

( राखिएको थियो थुप्रै प्रश्नवाचक सङ्केतहरु ) ?????????????????????????????????????

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij