• Tuesday 8th of September 2026

माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ


  • आशाका किरण

जनकपुर (धनुषा), २४ भदौ : धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् ।

माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु-याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ ।

दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका–४ हरैया टोलका अधिकांश कुम्भकारको दैनिक बिहानैदेखि माटो मुछ्ने र भाँडा बनाउनेमा व्यस्त देखिन्छन् । हरैयामा कुम्भकारको एउटै छुट्टै टोल छ । उनीहरुको पुख्र्यौंली पेसा माटाका भाँडा बनाएर बेच्ने हो । यतिखेर यहाँका सबैजसो घरपरिवारका सदस्य माटोको भाँडा बनाउन व्यस्त रहेका स्थानीय विष्णुलाल पण्डितले बताउनुभयो ।

पर्वमा आवश्यकपर्ने छाछ छाछी, मटकुडी, घैला, दियो, दियो राख्ने बाला (लावैन)लगायत विभिन्न किसिमका भाँडाकुँडा बनाउन व्यस्त रहेको रामभरोस पण्डितले बताउनुभयो । भाँडा बनाउने माटो समयमा उपलब्ध नहुँदा समस्या हुने गरेकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको उहाँले बताउनुभयो । चौठचन्द्र पर्वमा एक थान भाँडालाई रू दुई सयदेखि पाँच सयसम्ममा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

बजारमा पाइने प्लास्टिक, स्टिल, पित्तलका सामग्रीले माटोका भाँडालाई विस्थापित गरे पनि चाडपर्वमा भने अनिवार्य माग हुने गरेकाले कुम्भकारलाई यतिबेला भाँडा बनाउन भ्याइनभ्याइ भएको धनुषा जिल्ला समन्वय समितिका पूर्वसभापति रामदेव यादवले जानकारी दिनुभयो ।

चौठचन्द्र मात्रै नभई दीपावली तथा छठमा पनि माटोको दियो, चौमुखे दियो, घैला (कलश)लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सिजनअनुसारका समान बनाउन थालिएको रामचरित्र पण्डितले बताउनुभयो । उहाँका अनुसार पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको जीविकोपार्जन माटोका भाँडाकुँडा बनाउने रहेकाले अरू समयभन्दा पर्वका बेला काममा बढी व्यस्त हुने गरेका छन् ।

यसपाली मिथिलाञ्चलमा असोज २ गते चौठचन्द्र पर्व परेको छ । उक्त दिन साँझ चन्द्रमालाई माटोको भाँडामा बनाइएको दही, खिर, पुरी, फलफूलसहित पूजा गरी पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij