• Tuesday 8th of September 2026

अख्तियारद्धारा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


  • आशाका किरण

काठमाडौँ, ७ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध आज भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सो नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरुमध्ये सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माण कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङकन तथा भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएकोभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेकाले मुद्धा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा रु छ लाख ५८ हजार चार सय ४० बढी भुक्तानी दिएको देखिएको छ । सरकारी रकम हानीनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको देखिँदा मरासेनी र चौधरीलाई उक्त रकम बराबर बिगो कायम गरी माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

यसैगरी आयोगले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष किरणदेवीले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीका लागि स्वीकृत भएकोभन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी भुक्तानी लिएका कारण मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिन आएकाले उनीहरुलाई पनि सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन माग दाबी गरी आज विशेष अदालतमा आरोप–पत्र दायर गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij