• Tuesday 8th of September 2026

हावडामा भानुभक्त मार्ग नामकरण


  • आशाका किरण

काठमाडौँ, ११ असोज : हावडा म्युनिसिपल कर्पाेरेसन, हावडा, कोलकाताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ ।

पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरिणी’ नाम राखिएको हो ।

नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो । समितिका अध्यक्ष बद्रीविक्रम थापाले यसै वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईका प्रमुख आतिथ्यमा २१० औँ भानुजयन्ती मनाएको जनाउँदै आफ्नो संस्थाको अनुरोध ढिलै भए पनि स्विकारेकामा पश्चिम बङ्गाल सरकार र नगरपालिकालाई धन्यवाद दिनुभयो । संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका अध्यक्ष पनि रहनुभएका थापाका अनुसार उपयुक्त समयमा भानुभक्त मार्गको उद्घाटन गरिने छ ।

गङ्गासागर मेला, दुर्गापूजा, रक्तदान शिविर, बुद्धजयन्ती, मोतीराम जयन्तीलगायत विभिन्न स्वयंसेवी काम गर्दै आएको केन्द्रीय सेवा सङ्घअन्तर्गत पर्ने सात समितिमध्ये जनकल्याण समितिले भानुजयन्तीका अवसरमा हरेक वर्ष ‘बिहानी’ नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको र सोका सम्पादकमा नरविक्रम थापा रहनुभएको समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिनुभयो । भारत नेपाल जनमैत्री मञ्च कोलकातालगायत सङ्घसंस्था पनि साहित्यिक कार्यक्रम आदिमा संलग्न रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij