• Tuesday 8th of September 2026

बागलुङमा दोवाको निउरो


  • आशाका किरण

गलकोट (बागलुङ), १२ असोज : निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ ।

बागलुङ बजारका तरकारी व्यापारी शङ्कर रेग्मीले लेकाली निउरोको व्यापार तीन वर्षदेखि गर्न थालेको बताउनुभयो । सिजनमा उहाँले लाखौँको निउरोको कारोबार गर्दै आउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निउरो म्याग्दी सदरमुकाम बेनीबजार पुगेर निउरो सङ्कलनकर्ताबाट खरिद गरी बागलुङ ल्याउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका जङ्गलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ । जिल्लामा दोवको निउरोको उच्च माग भएकाले निउरोको व्यापार गर्न थालेको रेग्मीको भनाइ थियो ।

निउरोको सिजन भएकाले अहिले अन्य तरकारीभन्दा व्यापार बढी हुने गरेको उहाँले बताउनुभयो । “अघिल्लो दिनमा दोवाको जङ्गलमा निउरो सङ्कलन हुन्छ, त्यही मुठा पारिन्छ, भोलिपल्ट बिहानमात्रै बेनीबजार आउँछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफैँ गर्दछु”, रेग्मीले भन्नुभयो, “यो सिजनको व्यापार हो, साविक धवलागिरिका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपत हुने गरेको छ । अहिले चितवनलगायतका जिल्लाबाट समेत बागलुङमा निउरो आयात भइरहेको छ । तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ ।”

रेग्मीले होलसेल मूल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्री गर्दै आउनुभएको छ । अहिले दोवाको निउरो होलसेल प्रतिमुठा रू ६५ र खुद्रा प्रतिमुठा रू ८० मा बिक्री हुँदै आएको उहाँले बताउनुभयो । दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सिर्जना भएको रेग्मीको भनाइ थियो ।

तीन वर्षयता निउरो खरिद गरेर त्यहाँका सङ्कलकलाई रू आठ लाख रकम भुक्तानी गरिसकेको उहाँले जानकारी दिनुभयो । रेग्मीले अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँका स्थानीय मायाकुमारी पुन र शर्मिला पुर्जासहित स्थानीय महिलाद्वारा सङ्कलित निउरोको बजारीकरण गर्दै आउनुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका मायाकुमारी पुनले जङ्गलमा पाइने निउरो सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएको बताउनुभयो । “म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनीबजारमा निउरोको माग छैन । अहिले बागलुङ बजारमा माग उच्च छ”, उहाँले भन्नुभयो, “सिजनको व्यापार हो, निउरो सङ्कलन गर्न जङ्गलमा जानु कष्टकर नै छ, तर यहाँका महिलालाई परिवार पाल्न सहज भएको छ, निउरोको व्यापारले आयआर्जनमा सघाएको छ ।”

दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएको भन्दै पुनले म्याग्दीमा बिक्री नगरी बागलुङ पठाउने गरेको बताउनुभयो । अन्नपूर्ण–१ का निउरो सङ्कलनकर्ता शर्मिला पुर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताउनुभयो । “म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मूल्य पाइन्छ, होलसेलमै प्रतिमुठा रू ६० सम्ममा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “दिनभरि जङ्गलमा टिपेको निउरो मुठा पारेर भोलिपल्ट मात्रै बेनीबजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार पठाउँदै आएका छौँ । निउरो टिप्न जङ्गल प्रयोग गरेवापत केही राजस्व वन उपभोक्ता समितिलाई तिर्नेछौँ ।”

एउटा मुठामा रू १० देखि १५ नाफामा उपभोक्तालाई बिक्री गरिरहेको पुर्जाको भनाइ थियो । निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मी बताउँछन् । वनजङ्गलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादीको प्रयोग भएको हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’लगायतका पोषकतत्व पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij