• Friday 24th of July 2026

गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै


  • आशाका किरण

भोजपुर, १५ असोज : ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गरेर हतुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

“हतुवागढी आफैँमा एक ऐतिहासिक गाउँ हो”, उहाँले भन्नुभयो, “यहाँ धेरै ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदा छन् । यी क्षेत्रको विकास गरेर पर्यटक भित्राउने आधार र सम्भवनाको खोजी गरिरहेका छौँ ।” उहाँका अनुसार किरात राजाहरुले राज्य गरेको गढीमा रहेका भग्नावशेष दरबारको मर्मत गर्ने पालिकाको पहिलो योजना रहेको छ ।

गढीको नामबाट गाउँपालिकाको नाम राखिएकाले यसको संरक्षण तथा विकास गरेर इतिहासको खोजी गरी गढी र दरबारलाई अध्ययनयोग्य विषयको रुपमा विकास गर्न सकिने अध्यक्ष राईको भनाइ थियो । नेपाली सेनाले ऐतिहासिक गढीको संरक्षण र प्रवर्द्धनको लागि एक गढीबाट अर्को गढी जोड्ने पदमार्ग निर्माणको योजना अगाडि बढाएको भन्दै उहाँले यसले हतुवागढीको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो ।

यहाँको ऐतिहासिक तथा पुरातात्विक गढी र दरबार क्षेत्रको पुनःनिर्माण गरी यसको प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भइसकेको गाउँपालिकाले जनाएको छ । हतुवागढीबाट धरान, ईटहरी, विराटनगरका साथै तराईका विभिन्न जिल्लामा सहजै पुग्न सकिने भएकाले पर्यटकको आवगमन बढ्ने अध्यक्ष राईले बताउनुभयो ।

हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमालका साथै तराईका फाँटको अवलोकन गर्न सकिने उहाँको भनाइ थियो । “हाम्रो पालिका तराईका ठूला शहरबाट नजिकै रहेको छ” उहाँले भन्नुभयो, “त्यसैले यहाँ पर्यटनको धेरै राम्रो सम्भवना छ ।”

पालिकाको दक्षिण पूर्वीभागमा अरुण र दूधकोशी नदीमा बोटिङ भइरहेकाले यसबाट पनि पर्यटक भित्र्याउन सकिने अध्यक्ष राईले बताउनुभयो । “सप्तकोशीमा चतराघाटदेखी हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पुर्‍याउँदै जलयात्रा गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक हतुवागढी दरबार, भविष्यवक्ता पोखरी, महादेवथान गुफा, चमेरे गुफाका साथै हतुवागढी–१ मा रहेको दिमालुङ्ग स्मारक पार्क, शिवालय थान, हतुवागढी–२ मा सय वृक्ष, सङ्खाम चुली, जोर आहाल, भ्यु टावर, छोकमैन अवतारी, थुलुङ्ग संस्कृतिको सौरीनेम, तोसिखोम, अजम्बरी पानी, माक्साहुत (भालु बस्ने गुफा) हतुवागढी–३ मा सुनाहाङको शिर राखेको स्थल, फलामढुङ्गा, लुङ्गथुङ्ग ढुङ्गा, शिला सुत्केरी शिलालगायत पर्यटकीय स्थल रहेका राईले जानकारी दिनुभयो ।

पालिकामा रहेका ऐतिहासिक होम्ताङ्ग साकेला थान, बाहुतभुत बस्ने सुरुङ्ग, सिमसरादेबी थान, लुखिम ढुङ्गा, ईन्द्रेणी करना, ब्राहम टाकुरे डाँडा, विद्यापोखरी, पिचाखा मागलुङ्ग, गन्धेपानी, माईबेनी, किरात करना, समुदायको साकेलालगायत स्थानको स्तरोन्नति गरी विभिन्न अवलोकन तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो ।

किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान विन्दुको रुपमा विकास गरी समुद्र सतहबाट एकसय ५३ मीटर उचाईमा रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू–भागदेखि सबैभन्दा अग्लो भू–भाग साल्पासिलिछोसम्मको पदमार्गको प्रस्थान बिन्दु बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

पदमार्गमार्फत भोजपुर, धनकुटा तथा उदयपुरको सङ्गमस्थल तथा धार्मिकस्थल माइबेनी (त्रिवेणी), हतुवागढी दरबार हतुवागढी पैदलमार्गबाट पाक्माखाम भञ्ज्याङ् हुँदै चखेवामा जोड्ने निरौलाको भनाइ थियो । गाउँपालिकाको पर्यटन गुरुयोजनाअनुसारका कार्य सम्पन्न भएपश्चात् पालिकाले पर्यटनका क्षेत्रमा फड्को मार्ने उहाँले बताउनुभयो ।

पालिकाले निर्माण गरेको गुरु योजनाअनुुसार पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij