• Tuesday 8th of September 2026

बन्धक बनाएको आरोपमा दुई जना पक्राउ


  • आशाका किरण

काठमाडौँ, १७ असोज : काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा तथा काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार काभ्रेको तेमाल –७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई काठमाडौँ महानगरपालका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’मा अपहरण तथा बन्धक बनाइराखेको भन्ने उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।

नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ बाट प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको सात जनाको टोलीले देवसिंह लामालाई अपहरणमुक्त गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो । आरोपितहरुविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij