• Friday 24th of July 2026

सहकारी पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध


  • आशाका किरण

काठमाडौँ, १९ असोज : ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सिआइबीले बचतकर्ताहरुमा अनुरोध गरेको हो ।

सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितहरुबाट रु साढे चार करोड ठगी भएको भनेर उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित हुनुहुन्छ भने सम्पर्कमा अनाउनका लागि सूचित गरिएको जानकारी दिनुभयो ।
उक्त सहकारीका पदाधिकारीहरुले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीहरूले हिनामिना गरेका थिए ।

सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिकरुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए तर बचत गरिएको रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरु प्रहरीमा आइपुगेका थिए । पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडतहरुले उजुरी दिएका प्रहरीले जनाएको छ ।

अहिलेसम्म प्राप्त उजुरीमा रु चार करोड ५० लाख अपचलन र हिनामिना गरेको उल्लेख रहेको सिआइबीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । सिआइबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij