• Saturday 25th of July 2026

सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनु आवश्यकः मुख्यमन्त्री पाण्डे


  • आशाका किरण

गण्डकी, ३० असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधनस्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधनस्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो ।

स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्तिसुरक्षाको जिम्मेवारीका साथ सङ्गठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपद्का बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

“भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटना लगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताउनुभयो । पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको व्यवहार, आपत्कालीन सहयोग आदिले सङ्गठन भित्रको विश्वशनियता बढ्दै जाने बताउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा पुष्पार्पण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने प्रहरी कर्मचारी, खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजलाई सम्मान गरिएको थियो । निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले देश तथा जनताको शान्तिसुरक्षाका लागि अहोरात्र खटिरेहको प्रहरी सङ्गठन आफ्नो कर्तव्य तथा जिम्मेवारीलाई सधैँ आत्मसात् गर्दै अघि बढीरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij